काठमाडौं, २४ पुस । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सभामुखले भोलि बीचको बाटो तय गरेर सदन सुचारु गर्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘दुवै पक्ष गम्भिर बन्नुपर्छ । सभामुख बीचको बाटोका लागि तयार हुनुपर्छ ।’ उनले आइतबार संसदमा भएको घटनालाई दुर्भाग्यको संज्ञा दिएका छन् ।
कर्णले भने, ‘सभामुखले पनि केही न केही गल्ती गर्नुभएकै हो । र, पार्टीको तर्फबाट पनि केही गल्ती भएको हो । अब बीचको बाटोबाट जानुपर्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यसलाई टुँगो लगाउँछ ।’ नियामावली जीवन्त रहेकाले सोहीअनुसार अघि बढ्नुपर्नेमा उनको जोड छ ।
कर्णले प्रधानमन्त्रीको सम्बोधनबाट आफूहरुले धेरै आशा गरेपनि आशातित सम्बोधन नआएको गुनासो पोखे । उनले भने, ‘रेल कहिले आउँछ ? पानीजहाज कहिले चल्छ ? भन्ने कुरा अहिले जनताको चासाको विषय होइन, बरु रोजी, रोटीको र घरद्धारको जनतालाई चिन्ता छ ।’
उनले आफूहरुले मुद्दा फिर्ता र संविधान संशोधनको लागि वर्तमान सरकारलाई समर्थन गरेको उल्लेख गरे । कर्णले थपे, ‘तर, प्रधानमन्त्रीज्यूले यस विषयमा केही पनि बोल्नुभएन ।’
संविधान संशोधन र मुद्दा फिर्ताबारे ७ दिनभित्र काम अघि बढाउँछु भनेपनि प्रधानमन्त्रीले सम्बोधनको क्रममा मधेशको ‘म’, संविधानको ‘स’ र मुद्दा फिर्ताको ‘मु’ शब्दपनि उच्चारण नगरेको उनले गुनासो पोखे ।



लाेकपाटी न्यूज

