‘चितवनको विकासमार्फत् देशभरि समृद्धिको सन्देश दिन्छौं’ : प्रचण्ड

Prachanda_chitwan_chiyapan
लाेकपाटी न्यूज

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका लागि अब राष्ट्रिय सहमति कायम गरिने बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ किरणगञ्जस्थित श्री किरण अम्मरजंग गुरुङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘आपसमा लडाइँ झगडा होइन, विकासका लागि अब राष्ट्रिय सहमति आवश्यक छ ।’

राष्ट्रिय सहमतिका लागि नेपाली काँग्रेससँग संवादमा रहेको बताउँदै उनले भने, ‘राष्ट्रिय सहमतिका आधारमा शान्ति सम्झौता, संविधान निर्माण गर्याैं । अब विकासलाई अगाडि बढाउने छौं । हामीसँग जमिन छ, जंगल छ, जडिबुटी छन् । एउटा संकल्प गरेर राष्ट्रिय सहमतिका साथ विकास कार्यलाई अगाडि बढाउनु पर्छ ।’

चितवन क्षेत्र नम्बर तीनका सांसदसमेत रहेका प्रचण्डले समृद्ध चितवन र समृद्ध नेपाल आजको आवश्यकता भएको बताए । यसका लागि आफ्नो साथ र सहयोग रहिरहने उनले प्रतिवद्धता जनाए । पूर्वप्रधानमन्त्री प्रचण्डले पाँच वर्षभित्र यस क्षेत्रमा एउटा पनि बाटो कच्ची नरहने गरी सडक पिच गर्ने काम हुने बताए ।

‘चनौलीसम्म बनिसकेको छ । मंगलपुरदेखि मेघौली पर्साढापसम्म जाने बाटोको स्तरोन्नतिका लागि टेण्डर भइसकेको छ । काम अगाडि बढिसकेको छ । माडी जाने राप्ती पुलसम्मको पनि काम भइसकेको छ’ उनले भने, ‘रिङरोड र लिंकरोड बनाइसकेपछि चितवनको विकासमा क्रान्तिकारी परिवर्तन आउँछ भन्ने मेरो विश्वास छ । चितवनको विकासमार्फत् देशभरि समृद्धिको सन्देश दिन सकिन्छ । चितवनलाई मेडिकल हबको रुपमा विकास गर्ने, कृषिमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने बारेमा कुराकानी भएको छ ।’

कृषिको विकासको लागि चितवनमा अर्बौंको लगानीको लागि इजरायलले चासो देखाएको उनले बताए । विगतको शिक्षा प्रणालीले रोजगारी दिन नसकेर बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीजस्तो हुन पुगेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘लाखौं युवाहरु विदेशिनुपर्ने बाध्यता विगतको शिक्षा प्रणालीले सिर्जना गर्यो । अब प्राविधिक, व्यावसायिक र रोजगारमूलक शिक्षा प्रणाली हुनुपर्छ ।’

prachanda-renu1

प्रचण्डले थपे, ‘सरकारले र संसदमा पनि शिक्षालाई रोजगारमूलक र देशको विकास अभियानमा आवश्यक जनशक्ति उत्पादन गर्न सक्ने बनाउने काम सुरु गरेको छ । अब यो देशमा रोजगारी सिर्जना गर्ने शिक्षा चाहिएको छ ।’

स्वर्ण महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य पार्र्वती रावल, प्रदेश सांसद बलराम पौडेल, वडा नम्बर १९ का अध्यक्ष कर्णबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोणबहादुर गुरुङ लगायतले विद्यालयको बारेमा चर्चा गर्दै स्वर्ण महोत्सवको सफलताको शुभकामना गरेका थिए ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा हाल प्राविधिकतर्फ कृषि र भेटेरिनरीको पठनपाठन यसै वर्षदेखि सुरु भएको छ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयलाई ८० लाखको हाराहारीमा सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले परेडका साथै संस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्