बहुपयोगी ज्वानोको झोलको फाइदा

लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । सबैका भान्सामा प्रयोग हुने मसलामध्ये ज्वानो प्रमुख मानिन्छ । भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ ।

झट्ट जिव्रोले स्वाद लिँदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्यधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ ।

यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजवुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पुर्‍याउछन् । यसमा वातनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीको दुखाई कम गर्न मद्दत गर्नुका साथै शारीरिमा हुने अन्य दुखाइलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ ।

प्राय सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । सुत्केरी अवस्थाका महिलालाई ज्वानो खुवाउँदा प्रशस्त मात्रामा दूध आउने र हर्मोन सन्तुलन गर्छ । मौसमी रोगमा ज्वानो खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ । चिसो मौसममा ज्वानो खाँदा रुघाखोकी लाग्दैन । चिसोमा घाँटी दुख्ने, कफ जम्ने, रुघा लाग्नेजस्ता समस्या भएमा जवानो निकै लाभदायी हुन्छ ।ज्वानोलाई विभिन्न तरिकाले खान सकिन्छ । यसलाई झोल बनाएर र दाल, तरकारी वा साग झान्नमा पनि प्रयोग गर्न सकिन्छ ।

ज्वानोलाई मह अथवा कागतीको रसमा मिसाएर खान सकिन्छ । ज्वानो, मह र भेनेगरलाई मिसाएर लगातार १०(१५ दिनसम्म खाँदा मिर्गौलाको पत्थरी ठीक हुने । यसलाई भुटेर मनतातो पानीसँग खाँदा ग्यास्ट्रिक कम हुन्छ ।
ज्वानोले श्वासप्रश्वासमा आउने समस्यालाई समेत कम गर्छ । बिहान वाकवाक लागेमा ज्वानोलाई चपाएर खाँदा आराम हुन्छ । नियमित ज्वानो खाँदा श्वास गन्हाउने समस्याबाट बच्न सकिन्छ । ग्यास्ट्रिकका लागि यो निकै लाभदायी हुन्छ ।

यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । ज्वानो पाइल्स रोगीका लागि पनि निकै प्रभावकारी मानिन्छ । यसले शरीरमा प्रवेश गर्ने हानिकारक ब्याक्टेरियालाई पनि रोक्ने काम गर्छ ।

ज्वानोको झोल बनाउने तरिका

आवश्यक सामग्री ज्वानो – ठूलो २ चम्चा , अदुवा – एक ठूलो टुक्रा , ल्वाङ – पाँचवटा , सुकमेल – पाँचवटा , आवश्य कता अनुसार – नुन र बेसार , आवश्यकता अनुसार पानी । अब सबैभन्दा पहिले ज्वानोलाई तावामा हल्का भुट्ने । भुटेको ज्वानोलाई मसिनो गरी पिस्ने । अदुवा, ल्वाङ, सुकमेल र दुई चार दाना मरिच पिसेर पेस्ट बनाउने । आफूलाई चाहिने जति एउटा भाँडोमा पानी उमाल्ने ।

अब उम्लेको पानीमा पिसेको ज्वानोको धूलो र अदुवा ल्वाङ र मरिचको पेस्ट राख्ने । उम्लिँदै गरेको ज्वानो पानीमा स्वादअनुसार नुन र बेसार राख्ने । करिब पाँच मिनेट जति उमाल्ने । यसरी तयार भएको ज्वानोको झोल साँझ बिहान खाँदा स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ ।

महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुति ज्वरमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीका साथ प्रयोग गरिन्छ । ज्वानोसँगको अन्य समिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्