‘सरकारी उद्योगहरु बेचेर खाए’ : उपेन्द्र यादव

Upendra Yadav
लाेकपाटी न्यूज

नीरज पिठाकोटे, वीरगञ्ज, १५ पुस ।

उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशको अर्थतन्त्र संसारकै खराब अवस्थामा पुगेको बताएका छन् । श्रीनिधि बचत तथा ऋण सहकारीको उदघाटन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले पूरानो राज्यसत्ताका कारण मुलुकको आर्थिक अवस्था खराब भएको बताएका हुन् ।

राज्यमा विद्यमान पूरानो नीति र चिन्तनले देशलाई कंगाल बनाएको बताउदै उनले भने, “देशका उद्योग कलकारखानाहरु पहिलेका सरकारले धरासायी बनाएर बन्द गरे, अहिले देशको आर्थिक अवस्था एशियाको कुनैपनि देशसँग तुलना गर्न मिल्ने खालको छैन ।” देशमा संघीयता र सहकारी आन्दोलनको स्वरुप एउटै भएको बताउदै उनले सहकारीले साना तथा मझौला उत्पादनमूलक उद्योगहरुमा लगानी गरेर आर्थिक योगदान गर्न सक्ने बताए ।

रोजगार र उद्योगधन्दा नभएसम्म देशमा आर्थिक समृद्धि नहुने बताउदै मन्त्री यादवले भगवानको मूर्ति समेत विदेशबाट आयात हुन थालेकोले नेपाललाई विदेशबाट सामान आयात गरेर विक्री गर्ने देश बनाउन नहुने धारणा राखे । उनले भने, “देशमा अहिलेको ८७ प्रतिशत आयात र १३ प्रतिशत निर्यातको अवस्था छ । यसले कहिले देशको अर्थतन्त्र कहिले माथि उठ्छ ? यसैले नीतिलाई परिवर्तन गर्नुपर्छ।”

वीरगन्जमा ठूला उद्योगी नभएको बताउँदै खासामा उत्पादित सामान वीरगन्जमा ल्याएर बेच्ने होइन, वीरगन्जमा उत्पादन गरेर खासामा बेच्ने मात्रै उद्योगी हुने उनको भनाइ थियो । सहकारी र संघीयता एकैसाथ अघि बढिरहेको तर्क गर्दै स्वास्थ्यमन्त्री यादवले अब स्थानीय तहलाई प्रदेश अंग बनाएर प्रदेशलाई बलियो बनाई आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने बताए ।

कृषिमा आधुनकिकरण, जलश्रोत, पर्यटन, शिक्षा र स्वास्थ्यको विकासले मात्रै देशमा आर्थिक परिवर्तन हुने मन्त्री यादवको भनाइ छ । यादवले मधेस आन्दोलनको उपलब्धि संस्थागत गर्न संविधान संशोधन गर्ने सम्झौता गरेर नै सरकारमा सहभागिता भएको बताए । संविधान संसोधनका लागि नै आफूहरु सरकारमा गएको उनले दावी गरे ।

संस्थाका अध्यक्ष प्रेम चुडामडी बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव डा. सुरेन्द्र प्रसाद चौरसियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले चालू आर्थिक बर्षमा ५२ करोड ९० लाख ९३ हजार चार सय २५ रुपैंया निक्षेप संकलन गरेकोमा ४३ करोड ९१ लाख ३७ हजार तीनसय ३३ रुपैंया निक्षेप फिर्ता गरेको छ ।

त्यस्तै संस्थाको शेयर पुँजी २ करोड २७ लाख पु-याएको र दुईबर्ष भित्रमा पाँच करोड चुक्ता शेयर पुँजी पु-याउने लक्ष्य रहेको जनाएको छ । त्यस्तै कर्जा लगानीमा पनि आर्थिब र्ष ०७४÷०७५ मा ९६.७६ प्रतिशतले वृद्धि गरी २१ करोड ७१ लाख ५३ हजार ३ सय ६१ रुपैंया कर्जा लगानी गर्न सफल भएको छ ।

चालू आर्थिक बर्षमा २० करोड ५१ लाख ५१ हजार तीनसय ९३ रुपैंया लगानी गरेकोमा नौ करोड ८३ लाख ५९ हजार तीनसय तीन रुपैंया फिर्ता लिन सफल भएको छ । साथै संस्थाले मोबाइल बैंकिङ सेवाको लागि एप्लिकेसन पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्