भाडादर बढाउन माग

लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ ।

राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको द्धन्द्धलाई न्युनिकरण गर्नको लागि उक्त साझा पहलको सुरुवात गरेको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको बताएका छन् ।

उनले ट्याक्सी व्यवसायीहरुको बारेमा मानिसहरुको भ्रम र ट्याक्सी चालकहरुले भोगिरहेको जीवनको वास्तविक कारणहरु खोजी गरी व्यवसायीहरुले पनि आफ्ना क्रियाकलापहरु सुधार गर्नुपर्छ बताएका छन् ।
नीति र विधिको सवल कार्यान्वयन आजको खाँचो भएको बताउँदै उनले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जित गर्न आवश्यक सुझाव दिने र यता व्यवसायीहरुले आफ्ना गतिविधिहरुलाई प्रिय बनाउनेमा जोड दिन समेत आग्रह गरे ।

यस्तै लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले ट्याक्सी चालकलाई ठगी करार गरेर सरकारले हाम्रो सम्मानमाथि आँच पुर्याउने काम गरेको र २०६९ को भाडादरमा सेवा गर भन्ने, अनि जनताबीच हाम्रो बारेमा भ्रम सिर्जना गर्ने काम भएको बताएका छन् । उनले निक्कै लामो समयदेखि भाडा समायोजन लागि पहल गर्दै आए पनि सुनुवाई नभएको बताए ।

सरकारले अहिलेपनि अवैज्ञानिक ढंगको भाडा लादेर ट्याक्सी व्यवसायीमाथि अन्याय गर्ने काम गरेको उनको गुनासो छ । उनले सरकार, यातायात विभाग र सरोकारवाला निकायहरुले समयस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने सुझाव दिए ।

अभियानका संयोजक तामाङले २० वर्षे सट्टा भर्नालाई नरोक्नु÷नरोकाउनु भन्ने उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले लोकतान्त्रिक मुल्य मान्यतालाई अंगिकार गर्ने हाम्रो देशको सरकारले अदालतको आदेशलाई नमानेको बताउँदै ट्याक्सिको बारेमा उच्च अदालत पाटनले दिएको आदेशको बारेमा सरकार बेखबरजस्तै बनेको गुनासो गरे ।

कार्यक्रममा अखिल नेपाल मजदुर संघका केन्द्रीय उपाध्यक्ष अशोक थापा, अखिल नेपाल यातायात मज्दुर संघका ट्याक्सी विषेश जिल्ला कमिटिका अध्यक्ष दुर्गा श्रेष्ठ, अभियानका सदस्य कमल पोखरेल, दिल मिर्चिङ, बलराम श्रेष्ठलगायतले ट्याक्सी भाडा समायोजनमा गम्भिर बन्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्