काठमाडौं, १३ पुस । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले किशोर किशोरीहरु खासगरी युवाहरुमा मेन्टलसम्बन्धी केशहरु पाइएको बताएका छन् । यादवले भने, ‘गरिबी, बेरोजगारी, राजनैतिक अस्थिरता, राम्रो स्वास्थ्य अभाव, शिक्षाको अभाव र भोजनको अभावका कारण मानसिक स्वास्थ्यको समस्या देखिएको छ ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मन्त्री यादवले नेपालमा भविष्यप्रतिको अनिश्चितताको कारणले पनि मानसिक स्वास्थ्यको समस्या देखापर्ने गरेको र विकसित मुलुकमा भने पारिवारिक असन्तुष्टिका कारण देखिने गरेको सुनाए । मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्नको लागि ठूलै लगानी गर्नुपर्ने उनको भनाइ छ ।
मानसिक र शारिरीक दुवै स्वास्थ्य महत्वपूर्ण पक्ष भएको बताउँदै भने, ‘हाम्रोमा शारिरीक स्वास्थ्यबारे धेरै हस्पिटल छन् । डाक्टरहरु पनि छन् । सहयोग गर्ने संघसंस्थाहरु पनि छन् । तर, मेन्टल हेल्थमा हामी धेरै पछाडि छौं । युवा उमेरमा मानसिक स्वास्थ्यको देखा परेको पाइन्छ, यसको प्रोपर ट्रिटमेन्ट आवश्यक छ ।’
उनले ठाउँ–ठाउँमा सरकारकी अस्पतालमा डाक्टरहरुको अभाव रहेको बताउँदै भने, ‘जनशक्तिको ठूलो अभाव छ ।’ आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क दिने वा उपलब्ध गराउने आफ्नो तयारी रहेको पनि मन्त्री यादवले सुनाए । उनले भने, ‘सरकारी अस्पतालका अस्पतालमा सुधार गर्नुपर्छ । यसको लागि ठूलो लगानी गर्नुपर्छ । एक चौथाई पनि जनशक्ति छैन।’
जिल्ला र क्षेत्रीय अस्पतालहरुलाई सुधार र स्तरोन्नती गर्नुपर्ने आवश्यकत्ता उनले सुनाए । उनले भने,‘राम्रो उपकरण र दक्ष जनशक्ति राख्नुपर्छ । यो तत्काल गर्नुपर्ने आवश्कत्ता छ ।’ त्यस्तै, उनले हरेक प्रदेशमा मेन्टर हेल्थ सेन्टर बनाउने कुरालाई पनि आफूले अभियानको रुपमा अघि बढाउन लागेको उनले जनाए ।
सरकारी अस्पतालहरुको अवस्था दर्दनाक भएको सुनााउँदै उनले अहिलेसम्म पशुपतिनाथले चलाइरहेकोजस्तो लागेको पनि टिप्पणी गरे । शिक्षा र स्वास्थ्य क्षेत्र सवल भयो भनेमात्रै देश बन्ने उनको भनाइ छ । उनले भने, ‘मान्छे ज्ञानी र स्वस्थ भयो भने उसले संसार बदल्छ ।’
यादवले यही महिनाभित्र स्वास्थ्य नीति ल्याउने स्पष्ट पारेका छन् । उनले भने, ‘सबै तयारी भइसकेको छ । हामी यही महिनामा स्वास्थ्य नीति ल्याउँछौं ।’ प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेन्टर बनाउने पनि तयारी गरिएको उनले जनाए ।



लाेकपाटी न्यूज

