काठमाडौं, १२ पुस । अमेरिकी डलरको भाउमा सामान्य गिरावट आउन थालेको छ । अघिल्लो साता मंगलबारबाट शुक्रबारसम्म घटेको डलरको भाउ शनिबारदेखि बढेको थियो । तर, फेरी ओरालो लाग्न शुरु भएको छ ।
गत साता मंगलबारबाट घट्न सुरु गरेको डलर भाउ शुक्रबारसम्म १ सय ११ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो । मुलुकको केन्द्रीय बैंकका अनुसार हिजो बुधबारको दाँजोमा बिहीबार डलर भाउ १० पैसा सस्तो छ ।
मंसिर १५ गते डलर भाउ घटेर साढे ३ महिनाअघिकै हाराहारीमा १ बराबर १ सय ११ रूपैयाँ ६५ पैसामा झरेको थियो । साउन २८ गते १ डलरबराबर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दरअनुसार १ सय १२ रुपैयाँ ४२ पैसा बिक्री दर र १ सय ११ रुपैयाँ ८२ पैसा खरिद दर रहेको छ । बुधबार १ बराबर १ सय १२ रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो भने सोमबार १ सय १२ रुपैयाँ ५४ पैसा पुगेको थियो ।
गत असोज २४ गते इतिहासमै पहिलो पटक डलर भाउ १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर कीर्तिमान कायम गरेको थियो । डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ ।
अमेरिकी मुद्रास्फीति, बेरोजगारी दरमा राम्रो सुधार आएकोले अर्थतन्त्र समग्र हिसाबमा बलियो हुँदै गएका कारण डलरको भाउ केही समयदेखि बढिरहेको थियो । डलरको भाउ बढे अनुसार नेपालमा उपभोग्य वस्तुको भाउ पनि महंगीदै जान्छ ।
अमेरिकी डलर सबै मुद्रा भन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ अवमूल्यन भइरहेकाले यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको पाइन्छ । साढे तीन दशकदेखि भारु १ सय बराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ ।



लाेकपाटी न्यूज
