चितवन । भरतपुर महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी तेस्रो नगर सभाले पारित गरेका निर्णय सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सभाले जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापनसम्बन्धी ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि र तीनपांग्रे सवारी साधन दर्ता तथा शुल्क निर्धारण कार्यविधि पारित गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै महानगर प्रमुख रेनु दाहालले आर्थिक ऐन २०७५ मा केही संशोधन गरिएको बताइन् ।
प्रमूख दाहालले ती विधेयक राजपत्रमा प्रकाशन गर्नुपूर्व संघीय सरकार, प्रदेश सरकार, नेपाल पत्रकार महासंघ लगायत अन्य सरोकारवालाबाट प्राप्त रचनात्मक सुझावलाई समावेश गरी परिमार्जनसहित प्रकाशन गरिने बताइन् । उनले भावी कार्यदिशामा स्मार्ट सिटीको गुरुयोजना, ठूला पूर्वाधार योजनाको कार्यान्वयन, वडा कार्यालयको सशक्तिकरण, राजश्व प्रशासनमा प्रविधिको प्रयोग र प्राथमिकता, महानगरव्यापी सरसफाइ कार्यक्रमलाई समेटेको बताइन् ।
उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, सहकारी क्षेत्रको उचित सरोकार एवं समन्वय, सहकार्य, सिकाइ, गुणस्तर कायम र भएका कामको प्रचारप्रसारलाई पनि भावी कार्यदिशामा समेटिएको छ । महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सभाहल, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको तयारी गरेको छ ।
महानगरीय चक्रपथ र लिङ्करोडको शिलान्यास भई काम अगाडि बढेको, अटोल्याण्डको विस्तृत अध्ययन भइरहेको, बहुउद्देश्यीय व्यापारिक भवनको नक्साङ्कन भइरहेको, नारायणी किनारलाई आकर्षक तटका रुपमा विकास गर्ने काम भइरहेको महानगर प्रमुख दाहालले बताइन् ।
उनले केन्द्रीय बस टर्मिनल भरतपुर र पोखरा बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बनाउन लागिएको, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न लागिएको, भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न लागिएको, फोहरमैला व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा अध्ययन भइरहेको जानकारी दिइन् ।



लाेकपाटी न्यूज

