काठमाडौं, ११ पुस । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनतामाझ सरकारको छवी बिग्रिएको बताएका छन् ।
बुधबार संसद्को हिउँदे अधिवेशनमा बोल्दै डा. भट्टराईले दुई तिहाईको शक्तिशाली सरकारबाट जनताले धेरै अपेक्षा गरेको र त्यो पूरा नभएको बताएका हुन् । उनले भने, ‘मैले गाउँगाउँ डुलेर जनताको जीवनस्तर हेरेको छु । उनीहरुको जीवनस्तरमा अलिकति पनि परिवर्तन आएको छैन । सुशासन र शान्ति आएको छैन । जनप्रतिनिधिहरुले आवश्यकताभन्दा बढी सुविधा लिएका छन् । त्यसो हुनु राम्रो होइन ।’
उनले सरकारलाई लक्षित गर्दै भने, ‘कतै हाम्रा नेताले दुख पसिना बिर्सेर सबैतिर चिल्लो र राम्रो देखेका त होइनन् ?’ उनले बिलासी गाडीभित्र बसेर सडकको धुलो नदेखिने भन्दै व्यङ्ग्य गरे । जनताको जीवनस्तरमा परिवर्तन नभएको बताउँदै उनले शक्तिशाली सरकार १० महिना नाघिसक्दा पनि निरन्तरतामात्रै दिएको आरोप लगाए । अब सरकारले गुणात्मकमा ध्यान दिनुपर्ने डा. भट्टराईको सुझाव थियो ।
उनले सांसदहरुमाथि जनतामा आशंका उब्जिएको बताउँदै सांसदहरुले जनताको दुख र पसिना नदेखेको धारणा राखे । उनले प्रश्न गरे, ‘आशंका जनताको घरदैलोमा पसेर आएकाहरु सत्तामा पुगेपछि जनताका दुख बिर्सिएको त होइन ? हाम्रो चस्मा फेरिएको त होइन ?’
उनले युद्धका शहिद, बेपत्ता तथा घाइतेप्रतिको जिम्मेवारीलाई पनि सरकारले बोध गर्नुपर्ने धारणा राखे । प्रदेशको सीमाङ्कन र नामाकरणको काम रोकिएकोमा पनि उनले प्रश्न गरे ।
संविधान संशोधन गरेर असन्तुष्ट पक्षको अधिकार सुनिश्चित गराउन उनले सरकारलाई आग्रहसमेत गरे ।



लाेकपाटी न्यूज

