राजीनामा दिन पनि सक्छु : दिगम्बर झा

DIGAMBAR JHA (1)
लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने, ‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, यदि सम्माननीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष झाले यस्तो बताएका हुन् । उनले भने, ‘म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होइन, म त काम गर्ने मान्छे हुँ । म सर्भिस डेलिभर गर्न चाहन्छु । म पनि स्वतन्त्र नागरिक हुँ । मेरो पनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ । मेरो प्रतिष्ठामाथि आँच पुर्याउनेगरि नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस्। कसैलाई पनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ ।’

उनले आफूले यसरी अहोरात्र काम गर्दा पनि बिना कुनै कारण सत्तारुढ दल नेकपाका नेताहरुको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा उनले आपत्ति जनाए । उनले भने, ‘मलाई बदनाम गरिएको छ । कुनै गल्ती नै नगरेको र आरोप नै नलागेको मजस्तो व्यक्तिलाई आज आरोपित गरिएको छ । उहाँहरुले त भ्रष्टाचारी नै ठहर गरिदिनुभएको छ । यसप्रति म निकै खिन्न छु । दुःखी छु । उहाँहरुको आफ्नो राजनीति होला, तर आफ्नो राजनीतिमा मलाई एउटा गोटीको रुपमा प्रयोग गरिँदैछ । यही दुःखको कुरा हो ।’

तर, एकजना पूर्वमन्त्रीले मलाई प्रभाव पार्न दिगम्बर झा आउनुभएको थियो भनेर तपाईमाथि गम्भिर आरोप लगाउनुभएको थियो नि ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘२०६८ सालमा उहाँ मन्त्री हुनुभएको थियो । म त्यो बेलामा आयल निगमबाट निस्किएको थिएँ । दुई कार्यकाल पुरा गरेर म निस्किएको थिएँ । मैले उहाँलाई त्यो बेलामा यदि कुनै प्रकारको प्रलोभन वा घुस नै दिन गएको थिएँ भने उहाँले मलाई त्यही बेला समात्न सक्नुहुन्थ्यो किनकी उहाँसँग त पुलिस थियो । अंगरक्षक थियो ।’

झाले थपे, ‘दोस्रो कुरा, ठीक एक वर्षपछि उहाँकै पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उहाँले मलाई अध्यक्षमा नियुक्ती गर्नुभयो । त्यो बेलामापनि उहाँ बोल्न सक्नुहुन्थ्यो नि । तर, ७ वर्षपछि उहाँले बिना आधार, बिना कुनै कारण यो आरोप लगाउनुभयो । यो पनि असाध्यै आपत्तिजनक छ । यो मेरो मानहानीको खिलाफ हो । म यसको उपचारको लागि अदालत जान सक्छु । क्षतिपूर्ति पनि माग्न सक्छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्