काठमाडौं, ११ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् ज्याला हरेक क्षेत्रमा अनिवार्य रुपमा लागू हुने बताएका छन् ।
बुधबार नेपाल चलचित्र प्राविधिक संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री विष्टले भने, ‘सरकारले तोकेको न्यूनतम् ज्याला हरेक क्षेत्रमा अनिवार्य रुपमा लागू हुन्छ, चलचित्र क्षेत्रका श्रमिकले पनि सोहीअनुसारको पारिश्रमिक पाउनुपर्छ ।’
उनले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री विष्टले सरकारी सेवामा कार्यरत कर्मचारीमा तलब सुविधाको कुनै विभेद नभएको प्रष्ट्याए ।
श्रमिकको जीवनयापनलाई सहज बनाउन र निर्धक्कसँग काम गर्ने वातावरण निर्माण गर्न केही समयअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको दोहोर्याउँदै मन्त्री विष्टले बहुआयामिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए । उनले भने, ‘चलचित्र क्षेत्रमा कार्यरत कलाकार, प्राविधिकलगायतले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने छ ।’



लाेकपाटी न्यूज

