अब घरबाटै कम्पनी दर्ता गर्न सकिने

lady with laptop
लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल सिग्नेचर कार्यान्वयनमा ल्याउने भएको छ ।

डिजिटल सिग्नेचर कार्यान्वयनमा आएसँगै घरमै बसी-बसी कम्पनी दर्ता गर्न सकिने छ । यसले दलालबाट उन्मुक्ति पाउनुका साथै वकिलमार्फत काम गराउँदा अनावश्यक कागजात राखेर ठूलो फाइल बनाउने र शुल्क पनि बढी तिर्नु पर्ने समस्याबाट छुटकारा पाइनेछ ।

कम्पनी दर्तामा बाह्य व्यक्तिको प्रवेशकै कारण भ्रष्टाचारको अखडाको रुपमा लिन थालेपछि अनलाइन प्रणालीमार्फत कम्पनी दर्ताको प्रकृया अघि बढाउन खोजिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

यस प्रकृया अन्तर्गत अनलाइन आवेदन गर्नेले पाँच मिनेटभित्रै जवाफ दिने गरी सिस्टम विकास गरिएको छ ।
कार्यालयले विभिन्न खाले कृषि, पर्यटन, सेवा, उत्पादन लगायतका विभिन्न क्षेत्रका कम्पनीको प्रबन्धपत्रको नमूना कार्यालयको वेवसाइटमा राख्ने तयारीे गरेको जनाएको छ । अनलाइनबाट नाम रुजु गरेपछि व्यक्तिले प्रबन्धपत्र तयार पार्नुपर्छ ।

प्रबन्धपत्रमा व्यक्तिले कम्पनीको नाम ठेगाना, सञ्चालकको नाम ठेगाना, साक्षीहरुको नाम ठेगाना मात्र भरेर पठाउन सक्ने छ । आवश्यक अन्य कागजपत्र स्क्यान गरेर अपलोड गर्ने र कम्पनी दर्ताको प्रमाणपत्र पनि अनलाइनमार्फत नै पठाउने तयारी कार्यालयले गरिरहेको छ ।

कार्यालयका अनुसार नेपालमा डिजिटल सिंग्नेचरको काम गर्ने सरकारी मान्यता प्राप्त कम्पनी रेडएन्ट इन्फोटेक र कम्पनी रजिष्ट्रार कार्यालयबीच छलफल भइरहेको छ । डिजिटल सिग्नेचर लागू भएसँगै कम्पनी दर्ता गर्न, अध्यावधिक गराउन, शेयर किनबेच गर्न लगायतका कुनैपनि कामको लागि कार्यालय धाउनुपर्ने समस्याबाट मुक्ति पाइनेछ ।

यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयले ग्राहकको सहजताका लागि कम्पनी दर्ताको राजस्व अनलाइनमार्फत तिर्न सक्ने व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्