काठमाडौं, ११ पुस । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरु हुँदैछ । अपरान्ह ४ बजे बैठक बोलाइएको छ । बैठकमा राजनीतिक दलका नेताले अधिवेशन प्रारम्भ अवसरमा मन्तव्य दिने कार्यक्रम तालिका छ । प्रतिनिधिसभाको कार्यसूची तयार गर्न मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको थियो ।
बैठकले एउटा विधेयक र अध्यादेश पेस गर्ने कार्यसूची तय गरेको छ । हिउँदे अधिवेशनको पहिलो दिन बुधबार प्रतिनिधिसभामा दुई वटा बैठक बस्ने तयारी भएको छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ । यस्तै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।ँ



लाेकपाटी न्यूज

