सुर्खेत, १० पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारिताले समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचार समेट्नुपर्ने बताएका छन् ।
मंगलबार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘पत्रकारितामा धतुरो छर्ने तर बास्मती चामलको कल्पना गर्ने होइन, समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचार वा काममा लाग्नुपर्छ ।’
उनले कर्णाली प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासका लागि रासससँग समन्वय र सहकार्य गरी अघि बढ्ने बताए । सरकारी सञ्चारमाध्यम र राससको समयानुकूल विकास गर्न कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकता दिने मुख्यमन्त्री शाहीले बताए ।
प्रशिक्षणमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेखका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका पत्रकार गरी ४४ जना सहभागी थिए ।
.



लाेकपाटी न्यूज

