शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउँछौँ : रेनु दाहाल

renu2
लाेकपाटी न्यूज

चितवन, ६ पुस । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले अबको शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउने बताएकी छन् ।

भरतपुर-३ बेलचोकमा रहेको लिटिल फ्लावर स्कुलको रजत जयन्ती समारोहको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुर महानगरले शैक्षिक क्षेत्रको व्यापक विकास गर्न खोजेको बताइन् । उनले भनिन्, ‘महानगरको शैक्षिक विकासको लागि नगर शिक्षा ऐन पारित गरी राजपत्रमा समेत लेखिएको छ, यसको मूल उद्देश्य शिक्षालाई व्यापक रुपमा सुधारीकरण गर्न खोज्नु हो ।’

महानगर प्रमुख दाहालले भरतपुर महानगरले संस्थागत विद्यालयहरुले जम्मा विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ति दिने कार्यविधि बनाएको बताइन् । उनले भनिन्, ‘कुनै पनि विद्यालयले जम्मा विद्यार्थीमध्ये विपन्न १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ । महानगरले त्यस्तो कार्यविधि बनाएर पारित गरेको छ ।’

भरतपुर महानगरले नगर शिक्षा समिति गठन गरेको छ । महानगर प्रमुख दाहालले निजी र सामुदायिक दुवै विद्यालयको गुणस्तर उस्तै आउनुपर्ने बताइन् । उनले भनिन्, ‘निजी विद्यालय अघि बढेका छन्, सामुदायिक विद्यालयहरु पनि अघि बढ्नुपर्छ ।’ भरतपुर महानगर देशकै उत्कृष्ट महानगर बन्दै गइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्