काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले २०७५ जेठमा सञ्चालन गरेको विज्ञान संकायको कक्षा ११ को परिक्षाको नतिजा प्रकाशनमा लापरवाही भएको भन्दै आन्दोलनरत विद्यार्थीको मागप्रति ७ विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएका छन् ।
नतिजामा अन्याय भएको भन्दै विद्यार्थीहरु ९ दिनदेखि अनसन लगायतका कार्यक्रम गरी विराध जनाउँदै आएका छन् । बोर्डको लापरवाहीका कारण आफूहरुको भविष्य नै अन्यौलमा परेको भन्दै विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा ७ विद्यार्थी संगठनहरुले पनि ऐक्यवद्धता व्यक्त गरेका हुन् ।
मंगलबार अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुली, केन्द्रीय सदस्य अशोक थापा लगायतले अनसनस्थलमै पुगेर आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । पोखरामा क्रियाशिल ७ विद्यार्थी संगठनको प्रदेश नेतृत्वले आन्दोलनमा यसअघि नै ऐक्यवद्धता जनाइसकेको थियो ।
२७६८ जना विद्यार्थीहरुको कपी जाँच्ने क्रममा लापरवाही भएको थियो । पोखरामा नाम चलेका कलेजका विद्यार्थीहरुको ग्रेडिङ ‘ई’ मात्रै आएपछि विद्यार्थी, अविभावक र कलेजहरुले ‘रि–टोटलिङ’ गराएका थिए । सो क्रममा कैफियत देखिएको परीक्षा बोर्डले स्वीकार गरिसकेको छ ।
बोर्डले पुनः परिक्षा दिलाउने आश्वासन दिएको छ । तर, विद्यार्थीहरुले भने ‘रि–टोटलिङ’बाटै आफूहरुले न्याय पाउनुपर्ने बताउँदै आएका छन् । उनीहरुको आन्दोलनमा अभिभावक र कलेज व्यवस्थापनको समेत समर्थन रहेको छ ।
आन्दोलनमा समर्थन जनाउन पुगेका अनेरास्ववियुका सचिव सुदेश पराजुलीले लापरवाही गर्नेहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य अशोक थापाले सुन्दर विद्यार्थीहरुको भविष्यमाथि भएको खेलवाड मान्य नहुने बताए ।



लाेकपाटी न्यूज

