काठमाडौं, ३ पुस । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तोकिएकै समयमा पानी ल्याउने प्रतिवद्धता जनाएको हो ।
आइतबार मेलम्चीको ठेकेदार कम्पनि (सिएमसी) का प्रमूख म्यानेजर लगायतको टिम आयोजनाबाट अनुमति नलिई नेपाल छोड्न खोजेपछि आयोजना समयमै सम्पन्न हुनेमा आशंका जन्मिएको थियो । उक्त आशंकालाई निवारण गर्दै मंगलबार साँझ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा निर्धारित समयमै मेलम्ची ल्याउने प्रतिवद्धता जनाइएको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा मन्त्रालयले आयोजना सम्पन गर्ने विभिन्न विकल्पमा छलफल गरिरहेको जानकारी दिएका छन् । यस्तो छ मन्त्रालयलको विज्ञप्तिको पूर्णपाठ ।
मेलम्ची खानेपानी आयोजना सम्बन्धि खानेपानी मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति
नेपालको राष्ट्रिय गौरवको आयोजनाका रुपमा परिचित मेलम्ची खानेपानी आयोजना दुई दशक पूरानो राष्ट्रिय आयोजना हो । मेलम्ची आयोजना वि.सं. २०६५ सालमा सिआरसीसी नामक चिनियाँ कम्पनिसँग ठेक्का सम्झौता भएको थियो । तर, चिनियाँ कम्पनिसँग वि.सं. २०६९ असोज ९ गते निर्माण सम्झौता भङ्ग भएपछि नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले इटालीको सिएमसी कम्पनिसँग वि.सं. २०७० असार ३१ गते दोस्रो निर्माण सम्झौता ग-यो ।
मेलम्ची विकास समिति र सिएमसी कम्पनिबीच ७ अर्ब ७२ करोड, ३४ लाख, ७१ हजार ३४२ नेपाली रुपैंयामा प्रारम्भिक निर्माण सम्झौता भएको थियो । सम्झौतामा सिएमसीले ३६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख थियो । निर्माण सामग्रीको अभाव, भूकम्प, नाकाबन्दीजस्ता कारणहरुले मेलम्ची आयोजनाको निर्माण कार्य सम्झौतामा उल्लेखित मितिमै सम्पन्न हुन सकेन । निर्माण कार्यमा भएको ढिलाइले काठमाडौंका उपभोक्ता र आम नेपाली जनसमुदायलाई समेत मेलम्ची आयोजनाप्रति केही निरासा पैदा हुन पुग्यो ।
खानेपानी मन्त्रालयको नेतृत्व माननीय मन्त्री बिना मगरज्यूले सम्हालेपछि मेलम्ची आयोजनाको निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न अथक प्रयत्न गरेको व्यहोरा यहाँहरु सबैमा अवगत नै छ । मन्त्रीज्यूको अगुवाइमा मेलम्चीको निर्माण कार्यमा देखिएका समस्या, त्यसको समाधान र सहजीकरणमा निकै राम्रो प्रगति हासिल भयो । पछिल्लो ६ महिनाको अवधिमा मेलम्ची आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको मात्र छैन, अब मेलम्ची सुदुर भविष्य विषय रहेन भन्ने सकारात्मक सन्देश समेत प्रवाह भएको छ ।
हालसम्म मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । २७ किलोमिटर लामो सुरुङ मार्ग निर्माणको कार्य सम्पन्न भइसकेको छ, सुरुङको भुइँ ढलान लगायत फिनिसिङको काम सम्पन्न भएको छ । सुन्दरीजलको प्रशोधन केन्द्रको निर्माण कार्य पूरा भएको छ । आयोजनासँग सम्बन्धित प्राविधिक पक्ष लगायतका महत्वपूर्ण कामहरु सम्पन्न भइसकेका छन् । आयोजनामा भेल्टिलेसन साफ्ट, हेड वक्र्स, अडिट टलेनको गेट, सेन्सर क्यामेराका केही काम मात्र बाँकी छन् । अब कुनै विशेष प्रतिकूल परिस्थितिबाहेक आयोजनाको प्रगति रोकिने अवस्था छैन ।
आयोजनाको निर्माण कार्य अगाडि बढिरहेकै सन्दर्भमा गत आइतबार बेलुका ठेकेदार कम्पनि (सिएमसी) का प्रमूख म्यानेजर क्रिस्टियानो ग्रेको लगायतको टोलीले अनुमति बिना आयोजना स्थलबाट भागेर एकाएक नेपाल छोड्न खोजेको मेलम्ची खानेपानी आयोजना र खानेपानी मन्त्रालयले जानकारी पाएपछि अध्यागमनमा क्रिस्टियानो लगायतका प्रतिनिधिको अवस्था बुझ्न खानेपानी मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयको अनुरोधबमोजिम अध्यागमन विभागले निजहरुलाई निगरानीमा राखेको छ । पछिल्लो विकसित घटनाक्रमपछि मन्त्रालय आयोजनाको काम प्रभावित नहुने गरी समस्या समाधान गर्न निरन्तर क्रियाशील छ ।
मन्त्रालयले सोमबार र मंगलबार सरोकारवाला पक्ष र निकायसँग औपचारिक एवं अनौपचारिक रुपमा बैठक र परामर्श गरिरहेको छ । मन्त्रालयले समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समिति, ठेकेदार कम्पनि (सिएमसी) का प्रतिनिधि, परामर्शदाता इप्टिसा, एसियाली विकास बैंक, विज्ञहरु, कानूनका ज्ञाताहरु लगायत आवश्यक संस्था र व्यक्तिहरुसँग विभिन्न चरणमा परामर्श गरेको छ । मन्त्रालयले परामर्शदाता कम्पनि इप्टिसालाई मेलम्ची आयोजनाको सुरुङको प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयारी पारी एक हप्ताभित्र पेश गर्न निर्देशन दिइसकिएको व्यहोरा अवगत गराउन चाहन्छौं ।
मन्त्रालयले निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न विभिन्न बिकल्पमा छलफल गरिरहेको छ । अहिलेकै सिएमसी कम्पनिमार्फत् आयोजनाको निर्माण कार्य सम्पन्न गर्न सकिने अवस्थाका बारेमा पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्प राखेर परामर्श गरिरहेको छ । अहिलेकै ठेकेदार कम्पनिले काम नगर्ने परिस्थितिमा समेत कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न मन्त्रालय सक्षम र तम्तयारी अवस्थामा रहेको व्यहोरासमेत सरोकारवाला निकाय, उपभोक्ता र आम जनसमुदायमा स्पष्ट गर्न चाहन्छौं ।
अन्त्यमा, विकसित परिस्थितिबाट मेलम्ची आयोजनाको निर्माण कार्य प्रभावित नहुने व्यहोरा स्पष्ट गर्दै आयोजनाप्रति कहीँ कतै आशङ्का नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नुहुन सम्पूर्णमा हार्दिक अपील गर्दछौं ।
मिति : ३ पौष, २०७५
सचिव, खानेपानी मन्त्रालय



लाेकपाटी न्यूज

