वीरगन्ज, २७ मङ्सिर । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गर्न लागिएको २५ वाट क्षमताको सेती हाइड्रोपावर लिमिटेड लगानी जुटाउन लागि परेको छ । निर्माण तथा संचालनको जिम्मा लिएको भिजन लुम्बिनी लिमिटेडले बुधबार वीरगन्जमा परियोजनाको बारेमा जानकारी गराएको छ ।
माछापुच्छ्रे गाउँपालिका-२ को सार्दी खोलामा निर्माण हुन लागेको जलविद्युत परियोजनाको वीरगन्जका शिक्षा उद्यमी तथा प्रा.डा.दीपक शाक्यको पनि संलग्नता रहेको छ । कम्पनीले सबै क्षेत्रका व्यक्तिहरुलाई समेट्ने उद्देश्यले वीरगन्जबाट वीरगन्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्रा.डा. दिपक शाक्यलाई संचालक समितिको सदस्यमा चयन गरिएको कम्पनीले जनाएको छ । वीरगन्ज आर्थिक तथा औद्योगिक नगरी भएपनि यहाँका सीमित व्यक्तिहरुको मात्रै लगानीमा पहुँच रहेकोले सेती हाइड्रोपावर अवसर भएको प्रा.डा.शाक्यले बताए ।
सेती हाइड्रोको सरकारसँग पिपिए भइसकेकोले अब निर्माणका लागि लगानी जुटाइरहेको भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । जलविद्युत निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै ६ महिनापछि निर्माण शुरु गरि तीन वर्षमा सम्पन्न गर्ने र त्यसको तीन वर्षपछि विद्युत उत्पादन गरी बिक्री वितरणबाट लाभांशसमेत वितरण गरिने योजना रहेको अध्यक्ष पोखरेलले बताए ।
कम्पनीका संचालक लेखनाथ पाण्डेले शेयर बजारमा आएको गिरावटका कारण पछिल्लो समयमा जलविद्युत कम्पनीहरुमा पनि लगानीको सम्बन्धमा नकारात्मक सन्देश गएको बताउँदै सेती हाइड्रोपावर सहकारीको पद्धतीमा संचालन गरिने भएकोले यसमा लगानी डुब्ने जोखिम नरहेको बताए ।
जलविद्युत परियोजना असफल हुनुमा सामाजिक समस्या, आर्थिक समस्या र प्राविधिक समस्या नै मूख्य भएकोले यी सबै पक्ष सेती हाइड्रोसँग बलियो रहेकोले पनि यसमा लगानी डुब्ने आशंका कहीँ कतै नरहेको बताए । शुरुमा एक हजार विभिन्न क्षेत्रका विज्ञता हासिल गरेकाहरुलाई पनि शेयर दिने योजना रहेकोले ती विज्ञहरुबाट पनि कम्पनीलाई सहयोग गर्न प्रेरित गर्न सहयोग गर्ने पनि उनले बताए । विद्युत उत्पादन पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पनि छोटो दूरीमै रहेकोले पनि सेती हाइड्रोको लगानीमा शतप्रतिशत फाइदा हुने कम्पनीको दाबी छ । लुम्बिनी भिजन लिमिटेडले स्वास्थ्य, शिक्षा लगायतका विभिन्न क्षेत्रमा पनि लगानी गरिरहेको र निकट भविष्यमा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने योजनासमेत रहेको अध्यक्ष पोखरेलले बताए ।



लाेकपाटी न्यूज
