कर्मचारी अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने विप्लव कर्मचारीको चेतावनी

karmachari
लाेकपाटी न्यूज

काठमाडौं, २६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन अध्यादेश नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब संगठनले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष गोपाल सिंह धामीले हालै सरकारले ल्याएको कर्मचारी समायोज अध्यादेशले कर्मचारीलाई निरुत्साहित पार्ने काम गरेको आरोप लगाए ।

उनले भने, ‘यथास्थितिमा अध्यादेश लागू हुनै सक्दैन, सरकारका वर्तमान रबैयाहरुले संघीयता कार्यान्वयनमा ठूलो प्रश्न खडा गरेको छ ।’ सरकारले दुई तिहाइको दम्भमा कर्मचारीमाथि भय र त्रास उत्पन्न गरी बलमिच्याँइमा यो अध्यादेश ल्याइएको पनि उनले आरोप लगाए ।

कर्मचारीलाई खुसिकासाथ, आत्मसम्मानपूर्वक जनताको सेवा गर्ने उचित वातावरण सिर्जना नगरे सम्पूर्ण देशभक्त, प्रगतीशील, लोकतन्त्रवादी कर्मचारीहरु एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नहुनेउनको भनाइ छ । उनले भने, ‘त्यो अवस्था नआउन दिन सरकार सजक हुनुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष टोपबहादुर बानियाले कर्मचारी समायोजनको नाममा सरकारले कर्मचारीमाथि त्रास पैदा गरेको आरोप लगाए ।

अध्यक्ष बानियाले हालै लागू गरिएको कर्मचारी समायोजन अध्यादेश २०७५ को सम्बन्धमा संगठनले १५ बुँदे आधिकारिक धारणा सार्वजनिक गर्दै कर्मचारी समायोजन विभेदकारी रहेको आरोप लगाएका हुन् ।

त्यस्तै कार्यक्रममा संठगनका महासचिव अमरसिंह वलीले कर्मचारी समायोजन अध्यादेश २०७५ हचुवाको भरमा ल्याइएको आरोप लगाएका छन् ।

उनले भने, ‘यो अध्यादेशले कर्मचारीहरुमाथि अन्याय गर्ने काम गरेको छ, यस्तो किसिमको अध्यादेशले कर्मचारीलाई वितृष्णा पैदा गराएको छ, कुनै पनि हालतमा यथास्थितिमै उक्त अध्यादेश लागू गर्न हुँदैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्