‘सार्वजनिक बिदा पूर्नस्थापना नगरिए आफैँ बिदा घोषणा गर्छौं’

Nepal Aadibasi
लाेकपाटी न्यूज

काठमाडौं, २५ मंसिर । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिहरुको सांस्कृतिक चाडपर्वहरुको सार्वजनिक बिदा पूर्नस्थापनाको लागि सरकारसमक्ष माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले संविधान संशोधनमार्फत आफ्ना मागहरु सम्बोधन गर्नसमेत सरकारलाई दबाब दिएको छ । संविधानमा नेपालको आदिवासी जनजाति आन्दोलनले उठाएका पहिचान र अधिकारसँग सम्बन्धित मूलभूत मुद्धाहरू अझै सम्बोधन हुन नसकिरहेकोले कूल जनसंख्याको ३७ प्रतिशत भन्दा बढी आदिवासी जनजातिले पूर्णतः स्वीकार्न नसकिरहेको संघले जनाएको छ ।

परिवर्तनपश्चात् पनि आदिवासी समुदायले अन्याय, असमानता, दमन र विभेद भोगिरहेको अवस्था रहेको महासंघको गुनासो छ । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगतबहादुर बरामले नेपालका शासकहरुले आदिवासीमाथि दमन गर्दै आएको गुनासो पोखे । उनले भने, ‘नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउने भनेर नारा दिने तर हामी आदिवासी जनजातिहरुको हकअधिकारमा कुण्ठित गर्ने काम भइरहेको छ ।’

आदिवासी जनजातिहरु मुलुकप्रति बफादार रहेको सुनाउँदै उनले सरकारले आफूहरुका माग नसुने क्रान्ति अवश्य हुने उनको भनाई छ । उनले भने, ‘अहिलेसम्म भएका परिवर्तनका आन्दोलन र क्रान्तिहरुमा हाम्रो ठूलो भूमिका थियो र छ । तर, हाम्रो रगत र ज्यानको मूल्यांकन भएन । बरु हामीमाथि अपमान भयो ।’ सरकारले आफूहरुले पाउँदै आएको सार्वजनिक विदा पूर्नस्थापना गर्नुपर्ने आग्रहलाई नसुनेको पनि उनले गुनासो पोखे ।

उनले भने, ‘यदि हाम्रो आग्रह सुनेर सरकारले सार्वजनिक बिदाको पूर्नस्थापना गरेन भने हामी आँफै विदा लागु गर्नेछौं । दुर्घटनाको कारण नबनोस् । सरकारले हाम्रो माग सम्बोधन गरोस् ।’

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्षौदेखि आदिवासी जनजाति समुदायको ल्होछार/ल्होसार, माघी/माघे संक्रान्ति र उद्यौली, उभौलीजस्ता प्रमूख चाडपर्वलाई २०६२/६३ को परिवर्तनपश्चात् एक/एक दिन पाउँदै आएको सार्वजनिक बिदालाई पनि अहिलेको सरकारले विकास र समृद्धिका लागि काम गर्नुपर्ने बहाना बनाएर खारेजीको निर्णय गर्नु हामी नेपालका समस्त आदिवासी जनजाति समुदायमाथि सांस्कृतिक आक्रमण हुनु र असमानता कायमै रहनु हो । आदिवासी समुदायको चाडपर्वहरूलाई दिइएको बिदा २०६२/६३ को जनआन्दोलन, दश वर्षे जनयुद्ध, आदिवासी जनजाति आन्दोलनको उपलब्धि नै हो । यसरी ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धिलाई ती समुदायसँग कुनै पनि प्रकारको जानकारी, छलफल, परामर्श नलिई सरकारले एकलौटी ढङ्गबाट बिदा कटौती गरेकोमा यसखाले एकल सांस्कृतिक पक्षपाती निर्णयको पुनः घोर भर्त्सना गर्दछौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्