काठमाडौं, २४ मंसिर । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा मानव अधिकार शिक्षा समावेश गर्नेतर्फ सम्बन्धित निकाय लाग्नुपर्ने बताएकी छन् । सोमबार विश्व मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो धारणा राखेकी हुन् ।
राष्ट्रपतिले ७० औं विश्व् मानव अधिकार दिवस मनाउन लागिएको यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामनासमेत व्यक्त गरेकी छन् ।
‘नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चिता गरेको छ । मानव अधिकारको कार्यान्वयनको लागि विभिन्न् निकायहरुको व्यवस्था भएको छ । तिनका सकृय कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभास सबैले गर्ने छन् भन्ने मलाई लाग्छ ,’ शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन् ।
सन्देशको पूर्णपाठ
७० औं विश्व मानव अधिकार दिवस मनाउन लागिएको यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरेको छ । मानव अधिकारको कार्यान्वयनको लागि विभिन्न् निकायहरुको व्यवस्था भएको छ । तिनका सकृय कार्य सम्पादनबाट मानव अधिकारको प्रत्याभूतिको आभाष सबैले गर्नेछन् भन्ने मलाई लाग्छ । त्यसैले श्रोत साधन लगायत आवश्यक कुराहरुको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्रहरु क्रियाशील हुन आवश्यक भएको छ ।
मानव अधिकारका सिद्धान्तहरु सर्वव्यापि भएतापनि तिनको कार्यान्वयन राज्यका सीमानाभित्र नै हुन्छन् । सवल, सक्षम र राष्ट्रिय एकता सुदृढ भएको लोकतान्त्रिक राष्ट्रमा नै मानव अधिकारको प्रत्याभूति हुन सक्छ भन्नेमा पनि हाम्रो ध्यान जान आवश्यक छ ।
मानव अधिकारको सिद्धान्तलाई आमजनतासमक्ष पुर्याउन हाम्रो शिक्षा प्रणालीमा मानव अधिकार शिक्षा समावेश गर्नेतर्फ सम्बन्धित निकाय लाग्नु पर्दछ । अन्त्यमा, यस दिवसले मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न संलग्न हुनुहुने सबैलाई सफलता र यस क्षेत्रमा काम गर्न थप उर्जा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद,
२०७५ साल मंसिर २४ गते सोमबार



लाेकपाटी न्यूज