काठमाडौं, २१ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले भने, ‘मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।’
अर्थमन्त्री डा। खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा जोड दिदैं सरकारका कमीकमजोरी छन् भने पत्रकारिताले उजागर गरिदिपर्छ भने ।
‘पत्रकारिता प्रतिपक्षी दल जस्तो नभएर आफ्नो पेशाप्रति मर्यादित हुनुपर्छ,’ उनले भने, ‘सञ्चारमाध्यमले आफ्नो स्वायत्ततातर्फ विशेष ध्यान दिनुपर्छ ।’
अर्थमन्त्री डा. खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको धारणा व्यक्त गरे ।
व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने बताउँदै उनले आर्थिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न मन्त्रालय सदैव सहयोग गर्ने विश्वास व्यक्त गरे ।



लाेकपाटी न्यूज

