काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरेका छन् र
मंगलबार राजधानीमा रिपोर्टर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘हाम्रो पार्टी सरकारको यो कदमप्रति गम्भिर आपत्ति जनाउँदछ ।’ सरकारको यो कदमले मुलुकमा डरलाग्दो सांस्कृतिक द्वन्द्वको उत्पत्ति हुने खतरा रहेको पनि अध्यक्ष राणाले औंल्याए ।
आफूहरु धर्मनिरपेक्षताको विराधी भएको सुनाउँदै उनले भने, ‘जब यो राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरियो, तब यो मुलुकको मौलिक परिचय नै मेटियो । हामीले संविधान पारित हुने बखतपनि धर्मनिरपेक्षताप्रति गम्भिर असन्तुष्टि र असहमति दर्ज गराएका थियौं ।’
अहिले सरकारले जुन ढंगबाट क्रिश्चियन धर्मको कुरालाई लिएर अगाडि बढाउने प्रयत्न गर्यो त्यो गलत भएको उनको टिप्पणी छ । राणाले थपे, ‘धर्मनिरपेक्षतालाई मान्ने पार्टी चाहे त्यसका नेता माधव नेपाल हुन् वा चाहे त्यो हालको प्रधानमन्त्री होस्, उहाँहरु धर्मनिरपेक्षताको पक्षमा आफ्नो विचार स्पष्ट गरेका व्यक्ति हुन् । तर, अस्तिको एशिया प्यासिफिक समिटको नाममा जुन ढंगबाट एउटा धर्मको (क्रिश्चियन धर्म)को पक्षमा उहाँहरु अगाडि सर्नुभयो । सरकारको साधन, स्रोतलाई दुरुपयोग गरेर यसको पक्षमा प्रयोग गर्नुभयो । यो उहाँहरुले नै भनेको कुराको ठीक उल्टो गरेको छ ।’
माधव नेपाल र ओलीको कदम धर्मनिरपेक्षताविरोधी कदम भएको अध्यक्ष राणाको गम्भिर आरोप छ । उनले भने, ‘यो साम्यवाद विरोधी कदम हो । साम्यवादले कुनै एक धर्मलाई प्रचार गर्न दिँदैन । यो सबै हुँदाहुँदै पनि किन यस्तो भइरहेको छ ? कतै यो मुलुकलाई अर्कै दिशामा लैजाने षड्यन्त्र त भएको छैन ? यो मुलुकलाई धार्मिक र सांस्कृतिक कसै अरु पक्षको उपनिवेश बनाउने षड्यन्त्रमा सरकार औजार भएर निस्केको त छैन भन्ने हामीलाई शंका लागेको छ ।’



लाेकपाटी न्यूज