काठमाडौं, १२ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले हिजोबाट सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम सैद्धान्तिक रुपमा ठीक भएपनि यसको दीर्घकालीन नतिजा भने डरलाग्दो रहेको खतरा औंल्याएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. दिक्षितले भने,‘यो कार्यक्रम लागू गर्नका लागि अबको दुई वर्षमा डेढ खर्ब रुपैयाँ जम्मा हुन्छ भनिएको छ । नेपालमा हामी अहिले रामराज्यमा त छैनौं । हामी नेपालीहरुमा भ्रष्टाचार कति छ ? यो तपाईहरुलाई थाहा छ । यो भ्रष्टाचार यति व्याप्त भएको ठाउँमा डेढ खर्ब रुपैयाँ कसरी जम्मा हुन्छ र त्यसमा क–कसको गिद्दे नजर लाग्ला भन्ने कुरा त्यो तपाईहरुले विचार गर्नुहोला ।’
उनले भने, ‘त्यो पैसा जुन उद्देश्यले जम्मा भएको छ । त्यतापट्टि जाला कि नजाला ? भन्ने कुरा ठूलो–ठूलो प्रश्न मेरो मनमा उठेको छ। यो म किन भन्दैछु भनेदेखि नागरिक लगानी कोष भनेको यसमा सिम्पल नागरिकको पैसा परेको हो । तर, अहिले भर्खरै वाइडबडी एयर क्राफ्टको कुरा आएको छ । त्यसमा नागरिक लगानी कोषको भयंकर ठूलो पैसा परेको छ । त्यो यसरी हेर्दाखेरि डुब्दैछ । किनभने नेपाल एयरलायन्स त डुब्दैछ । मन्त्रीज्यूले जे जति अहिले यहाँ भनेतापनि फ्याक्ट त यो छ कि नेपाल एयरलायन्स अहिले पूर्ण रुपमा चुर्लुम्मै डुबेको छ । उ अब पैसा नभइकन उठ्ने अवस्थामै छैन । त्यो पैसा कसले दिने ? र कहाँबाट आउने भन्ने कुरामात्रै हो ।’
दीक्षितले नेपालमा जुन–जुन सरकार आएपनि गिद्धे आँखा चाहीँ त्यही लगानी कोषमा हुँदो रैछ भन्दै अघि थपे, ‘अहिले हेर्नुहोस्, इन्सुरेन्समा पनि त्यही छ। हजार रुपैयाँ पर्ने कुरामा दश हजारको बिल आउँछ । सबैको मिलोमतो छ ।’ त्यस्तै उनले आज नेपालका हरेक पार्टीका ट्रेड युनियन रहेको सुनाए । उनले भने, ‘ट्रेड युनियन हुनु हुँदैनथ्यो ।’
निजी क्षेत्रका व्यक्तिहरुले सामाजिक सुरक्षा कार्यक्रम राम्रो छ । यसलाई सहयोग गर्नुपर्छ भनेर बोलेको सुनाउँदै उनले भने, ‘उनीहरुले राम्रो भने । तर, यसको व्यवहारिक पक्षलाई ध्यान दिनुपर्छ ।’ उनले आखिरमा नेपाल ४, ५ वा ६ वर्षमा टाँट पल्टिने पनि खतरा औंल्याए । उनले भने, ‘त्यो लगानी कोष छ, त्यो विल्कुलै टाँट पल्टिन्छ ।’ उनले थपे, ‘३४ लाख ८ हजार कर्मचारी एकैचोटी आन्दोलनमा गए भने के हुन्छ ?’



लाेकपाटी न्यूज

