काठमाडौं, ८ मङ्सिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले देश बचाउन सेना बनाउने घोषणा गरेका छन् । मङ्सिर ८ गते काठमाडौंमा आयोजित सभामा विश्वकर्माले सेना बनाउने घोषणा गरेका हुन् ।
सभालाई सम्बोधन गर्दै उनले भने, ‘अपर कर्णाली बेचियो, बुढीगण्डकी बेचियो । यो राष्ट्रघात हो । नेताहरुले आफ्नो कुर्सीका निम्ति, आफ्नो स्वार्थका लागि देशलाई दाउमा राखेका छन् । देशलाई टुक्राटुक्रा बनाउने षड्यन्त्र भइराखेको छ । पहाड, तराई र हिमाललाई अलग्गाउने कोशिस हुँदैछ । डरलाग्दो षड्यन्त्र हुँदैछ, सरकार राष्ट्रघात गरिरहेको छ । देशलाई बचाउन अब हामी सेना निर्माण गर्छौं ।’
‘यो पार्टीका नेता तपाईहरुका सेवक हुन्, जनता पार्टीका नोकर होइन’ नेता प्रकाण्डले भने, ‘हामी नेपाली क्रान्तिको सेवामा छौंं । मङ्सिर ८ गते नेपाली जनताको मुक्ति आन्दोलनका लागि ऐतिहासिक दिन हो । यो विश्व सर्वहारा वर्गलाई सहयोग गर्ने उद्देश्य हो । दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्न यो पार्टी जन्मिएको हो ।’
प्रकाण्डले सरकार लाचार र असफल भएको आरोपसमेत लगाए । उनले भने, ‘सुखी नेपाली, समृद्ध नेपालको नाराले देश बन्दैन, देश बनाउन काम गर्नुपर्छ । यो सरकार दलालहरुको सरकार हो, दलाल पूँजीपति सरकार हो, कम्युनिष्ट सरकार होइन ।’

‘यो सरकार भ्रष्टहरुको सरकार हो, देश लुट्न बनेको सरकार हो’ उनले भने, ‘नेपालमा एउटा वायुसेवा नियम भन्ने छ । त्यहाँ जहाज किन्ने नाटक रचियो, त्यहाँ अरबौं भ्रष्टाचार भएको ओलीजीलाई थाहा छ कि छैन ? रवीन्द्र अधिकारीको लुट उनी किन सुन्दैनन् ? के उनलाई यो कुरा थाहा छैन ?’
‘महिलाहरु दिउँसो पनि बाहिर निस्कन सक्ने स्थिति छैन । हत्या र बलात्कारले जनता आजित छन्’, विश्वकर्माले भने, ‘सरकार नै निर्मला पन्तको हत्या र बलत्कारमा संलग्न छ । नत्र किन सरकारले अपराधी समात्दैन ? निर्मलाको हत्यारालाई हामी समात्छौं, कार्वाही हामी गर्छौं ।’
सभामा माओवादी नेता गोपाल किराँतीले प्रचण्डले धोका दिएको आरोप लगाए । किराँतीले भने, ‘जनयुद्धका बेला प्रचण्डलाई हामीले पनि नेता मानेका हौं । त्योबेला उनले सर्वहारा वर्ग र उत्पीडित समूदायका लागि राम्रो गरेका पनि हुन् । तर, उनी सत्तामा पुगेपछि धोका दिए ।’
त्यसैगरि अर्का वक्ता ऋषि कट्टेलले सबै माओवादी मिलेर नयाँ सङ्घर्ष गर्नुपर्ने बताए । अर्का वक्ता उमा भूजेलले क्रान्तिका लागि आफूहरुले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताइन् ।
नेकपाले आफ्नो पूनर्गठन दिवसका दिन काठमाडौंमा सभा गरेको हो । सभामा नेत्रविक्रम चन्द ‘विप्लव’ आउने भनिए पनि उनी आएनन् । सभामा उल्लेख्य सहभागिता थियो ।



लाेकपाटी न्यूज

