काठमाडौं, १ मंसिर । राजधानीमा चल्ने माइक्रो बसका चालक र सहचालकले पनि आइतबारदेखि अनिवार्य रुपमा चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।
चालक र सहचालकले लगाउने ज्याकेटको रङ फरक बनाइएको छ । ट्राफिक महाशाखाका प्रमुख वसन्तकुमार पन्तका अनुसार चालकले सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्नेछ ।
महाशाखाका अनुसार आगामी दिनमा देशभरका चालक तथा सहचालकहरुले ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिनेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरुको बीचको बैठकले चालक तथा सहचालकले अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।
ज्याकेटका कारण चालक तथा सहचालकको सजिलैसँग पहिचान हुने र चालकका बारे भएका गुनासो सम्बोधन गर्न सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यसअघि काठमाडौंमा चल्ने ट्याक्सी चालकले यो ज्याकेट अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गरिएको थियो ।



लाेकपाटी न्यूज