काठमाडौं, २९ कात्तिक । स्थानीय तथा सटर व्यवसायीहरुले राजधानीको कलंकी चोक बिहीबार बिहानदेखि अनिश्चितकालका लागि बन्द गरेका छन् ।

सडक निमार्णको काम अलपत्र पारेर प्रदुषण र धुलोले आक्रान्त पारेको भन्दै स्थानीयले कलंकी चोक बन्द गरेका हुन् । धुलो तथा धुँवाले मानव स्वास्थ्यमा गम्भीर असर पारेको उनीहरुको भनाइ छ । स्थानीयबासीले कलंकीचोक देखि कालिमाटी जानेतर्फ पाइप तथा डिभाइडर राखेर बाटो बन्द गरेका छन्। साथै उनीहरुले सडक सुधार चाँडै हुनुपर्ने भन्दै प्रदर्शन समेत गरेका छन् ।
यसअघि पनि उनीहरुले काठमाडौं महानगरसँग सम्झौता गरी धुलो, धुँवा नियन्त्रणको सहमति भएपनि त्यसको पालना नभएको भन्दै आक्रोश व्यक्त गरे । स्थानीय रमेश अर्याल भन्छन्, ‘धुलो धुँवा अत्ति भयो । अब धुलोधुँवा नियन्त्रण नभएसम्म सडक खुल्न दिँदैनौं ।’ त्यस्तै अर्का स्थानीय तथा व्यवसायी रामचन्द्र रिजालले पनि धुलोधुँवा नियन्त्रण नभए कुनै पनि हालतमा सडक नखोल्ने बताए ।
उनीहरुले यसअघि पनि पटकपट यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए । तत्कालिन अबधिमा धुलो धुँवा नियन्त्रणको लागि भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १४ सँग स्थानीयले सम्झौता गरेपछि तत्कालिन अबधिमा आन्दोलन रोकिएको थियो ।

आन्दोलित स्थानीयले तत्काल सडक पीच गर्नुपर्ने, धुलो नियन्त्रण गर्नुपर्ने, बीच बाटोमा अनावश्यकरुपमा राखिएका डिभाइडर हटाईनुपर्ने लगायतका माग राखेका छन् ।
दृष्य : हरिशरण न्यौपाने/प्रदिप अधिकारी



लाेकपाटी न्यूज