रुकुम, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताएका छन् ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले राजनीतिक आन्दोलन पूरा भएको बताए ।
‘नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो,’ उनले भने, ‘अबको आन्दोलन भनेको विकास र उत्पादनको हो ।’ विकास र उत्पादनसँगसँगै अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।
त्यस्तै उनले यस आन्दोलनको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । युवाको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने उनको भनाइ छ । ‘युवाहरु देशका खम्बा हुन्, उनीहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ, युवाहरु लागे भने देशले समृद्धि हासिल गर्न समय लाग्दैन,’ उनले भने ।



लाेकपाटी न्यूज