काठमाडौं, ८ कार्तिक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा २ दिने निशूल्क स्वास्थ्य शिविर हुने भएको छ ।
स्वास्थ्य शिविरको आयोजना चौतारा नगरपालिकाले गरेको हो । शिविरमा बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले प्राविधिक सहयोग गर्नेछ भने थाहा फाउण्डेसन पोखराले स्वास्थ्य शिविरको संयोजन गर्नेछ ।
कार्तिक १२ र १३ गते सञ्चालन हुने शिविरमा बिरामीहरुको निशूल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशूल्क औषधि बितरण गरिने चौतारा नगरपालिकाका उपमेयर जानुका पराजुलीले बताइन् । १२ गते साँगाचोकका बिरामीको स्वास्थ्य परीक्षण गरेर १३ गते चौताराका बिरामीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको उपमेयर पराजुलीले जानकारी दिइन् ।
शिविरमा स्तन क्यान्सर तथा भिआइए जाँच, पाठेघरको क्यान्सरको जाँच र अन्य रोगहरुको परीक्षण हुने र बिरामीलाई निशूल्क औषधि दिने व्यवस्था गरिएको थाहा फाउण्डेशनकी अध्यक्ष सरु दाहाल अधिकारीले जानकारी दिइन् ।
निशूल्क शिविरमा स्तन क्यान्सर सर्जन डा. सुनिल ढकाल तथा क्यान्सर रोग रोगथाम विशेषज्ञ किशोर प्रधानाङ्ग, प्राविधिक सिनियर मञ्जु शर्मा, तारा दवाडी लगायतको टिमले स्वास्थ्य परीक्षण गर्ने थाहा फाउण्डेशन नेपालका अध्यक्ष सरु दाहाल अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा क्यान्सर रोगबारे सचेतना दिने खालका कार्यक्रम पनि राखिएको छ । शिविरमा ‘क्यान्सरबाट कसरी बँच्ने’ भन्नेबारे सचेतना कार्यक्रमसमेत रहेको छ । शिविरमा छाति तथा स्तनमा गिर्खा भएका पुरुषले समेत स्वास्थ्य गरीक्षण गराउन सक्नेछन् ।



लाेकपाटी न्यूज

