योग शिक्षा पाठ्यक्रमा राखिने शिक्षामन्त्री पोखरेलको घोषणा

लाेकपाटी न्यूज

महोत्तरी, ३१ असोज । बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ। बडादशैँको फूलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैँ योग साधनामा सामेल भएर शुभारम्भ गरेका थिए।
सो अवसरमा मन्त्री पोखरेलले योगले शरीरमात्र नभई मन, बिचार र कामप्रतिको लगनलाई पनि स्वस्थ्य राख्ने बताए। सद्बिचार, सद्आचरण र सत्कर्म अवलम्वनमा योगले सघाउने उनको भनाइ छ।
“योगले मानव मन र शरीरलाई जोड्ने कुरा विज्ञानले पुष्टि गरेको छ” मन्त्री पाखरेलले योग शिविरमा सहभागीलाई हौँस्याउँदै भने, “अब योगलाई शिविरमा मात्र होइन, आफ्नै घरमा नियमित दैनिक तालिकामा गाभ्नुहोस्।” वर्तमान सरकारले योगलाई उच्च प्राथमिकतामै राखेर अब माध्यमिक तहको पठनपाठनमा पाठ्यक्रममै राख्न लागेको उनले बताए।
विश्व स्वास्थ्य सङ्गठनले ६२ प्रतिशत नसर्ने रोगको भयानकता बताएको तर्फ इङ्गित गर्दै योगले यो भयानकता नियन्त्रण गर्ने मन्त्री पोखरेलको भनाइ थियो।
योग शिविरमा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अब योगलाई अभियानकै रूपमा नगर क्षेत्रमा निरन्तरता दिइने बताए। काठमाडौं इञ्जिनीयरिङ कालिमाटीका योग शिक्षक शान्त खरेलले योग शिविरमा प्रशिक्षण दिँदैछन्। पहिलोपटक आयोजित शिविरमा ५० जना सहभागी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्