असोज २३, सुर्खेत । दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन् । चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन् ।
सोमबार विहान उनीहरु सुर्खेतबाट काठमाण्डौका लागि गाडि चढेका छन् । दशैं आइसक्दा लत्ता कपडा नभएकाले प्रधामन्त्रीलाई भेट्न जान लागेको मुखिया शाहीले बताए । ‘चाडपर्व नजिकै आइपुग्यो ।
के गर्ने? केही मार छैन, के खान्या, के लाउन्या ।’ उनले भने, “मन्त्रीलाई भेटर मार (बली), पहेला, सेता नयाँ लुगा, कपडा दिनुर्पयो भन्छु ।” आफुलाई जनताले पनि मन्त्रीसँग खाने र लाउने माग्न पठाएको बताए ।
अहिले जङ्गलमा काठ पाउन छोडेको भन्दै काठका भाडा पनि बनाउन नपाएको उनी बताउँछन् । “पहिले जङ्गलमा रुखहरु हुन्थ्यो, अहिले काठ पनि पाउँदैन के गर्ने ?
नत्र आफुलाई गुजारा गर्न हामीले आफै बनाएको भाडा पनि हुन्थ्यो ।” मुखिया शाहीले भने । शाही भन्छन्, “खान्या, लाउन्यायै समस्या भयो । सरकारले नदिएर कसले दिने मन्त्रीलाई भेटर यही भन्छु ।”



लाेकपाटी न्यूज

