काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । ९ एनएएमइ कल साइन भएको उक्त जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएको हो ।
उक्त जहाजको बायाँ इन्जिन भित्रका दुईवटा ब्लेडमा क्षति पुगेको छ । जहाज विराटनगर विमानस्थलमा ग्राउन्डेड छ । जहाजलाई नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकले जाँच गरिरहेका छन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जहाज मर्मत गरेपछि मात्रै उड्ने बताए । उनका अनुसार चरा ठोक्किएको जानकारी पाइलटले त्रिभुवन विमानस्थलको टावरलाई जानकारी दिएनन् । उनले भने, यस्तो अवस्थामा पाइलटले एटिसीलाई जानकारी दिनुपर्ने हो । तर एटिसीलाई जानकारी आएको छैन ।
उनका अनुसार जहाज उडिसकेपछि धावनमार्ग क्लियर गर्ने बेला मरेको चरा देखिएको थियो ।
सोमबार बिहान पौने ९ बजे काठमाडौं विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको थियो । पाइलटले उड्ने क्रममा केही ठोक्किएको जस्तो महसुश गरेपनि सामान्य भन्दै जहाज विराटनगर उडाएका थिए । जहाज अभिसेक राईले उडाएका थिए । जहाजमा ४८ जना यात्रुसहित ४ जना चालकदलका सदस्य थिए ।



लाेकपाटी न्यूज