काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले चालेको कदमले पाट्री एकतालाई कुनै तात्विक असर नपर्ने पनि उनको विज्ञप्तिमा उल्लेख छ। सोमबार जारी विज्ञप्ति जारी गर्दै उनले पाट्री एकताबद्ध रहेको र कुनै व्यक्तिको पाट्री, राष्ट्र र जनता विरोधी कार्यले पाट्री एकतामा तात्विक असर नपर्ने बताएका हुन्।
यस्तो छ प्रचण्डको विज्ञप्ति:
हाम्रो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ ।
म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।




लोकपाटी न्यूज

