‘कू’ मा राष्ट्रपतिले साथ दिए सर्वोच्च जान्छौं : लक्ष्मणलाल कर्ण

Laxmanlal karna
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक कू मा साथ दिन नहुने बताएका छन्। संसद् विघटन गरेर संवैधानिक कू गरेको बताउँदै त्यसमा राष्ट्रपतिले साथ दिएमा विपक्षी दलहरू सर्वोच्च अदालत जाने उनले बताए।

संविधानको संरक्षक राष्ट्रपति भएकाले प्रधानमन्त्रीको कदममा साथ दिन नहुने कर्णले सुझाव दिए। आइतबार प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय लिएका हुन्।

सबै राजनीतिक दलका नेता र कानुनका ज्ञाता तथा संविधानविद्हरूलाई बोलाएर राष्ट्रपतिले कदम चाल्नुपर्ने उनको भनाइ छ । राष्ट्रपतिले रोक्नुपर्छ। राष्ट्रपतिले रोक्न पाउने व्यवस्था र अधिकार संविधानमा छ।

त्यसैले नै संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक भनेको हो। गैरसंवैधानिक कदम कार्यकारीले लिन्छ भने राष्ट्रपतिले रोक्ने हो, उनले थपे, राष्ट्रिपति विद्यादेवी भण्डारीले त्यो कदम रोक्नुभएन भने केपी ओली र राष्ट्रपतिमा फरकै रहेन।

संविधान निर्माणका क्रममा नै संसद् विघटनको व्यवस्था नराख्न सबै राजनीतिक दलहरू एकमत रहेको र त्यो व्यवस्था संविधानमा राखिएको कर्णले बताए।