ओलीलाई प्रश्नः अर्को देशको नेतालाई भेट्दा कार्यकारी अध्यक्षलाई किन नसोधेको ?

Rawal_Bhim
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि कूटनीतिक मर्यादाको उल्लंघन गरेको बताएका छन्। नेता रावलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग गरेको भेटवार्तालाई लिएर आपत्ति जनाएका छन्।

भाजपाका विदेश विभाग प्रमुख चौथावाइलेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। भेटमा अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलसमेत सहभागी थिए। चौथावाइले पौडेलकै निम्तामा काठमाडौं आएको बताइएको छ। तर नेकपाका विदेश विभाग प्रमुख भने वरिष्ठ नेता माधवकुमार नेपाल हुन्। नेपालको सट्टामा पौडेलले भाजपाका विदेश विभाग प्रमुखलाई किन बोलाए ? यसको जवाफ दिइएको छैन।

चौथावाइलेलाई नेपालमा आमन्त्रण गर्दा पार्टी अध्यक्ष पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका विदेश विभाग प्रमुख नेपाललाई समेत जानकारी नदिएको प्रति नेता रावलले आपत्ति जनाएका हुन्। उनले प्रधानमन्त्रीबाटै बारम्बार विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको भइरहेको बताए। एक पार्टीको नेतालाई सरकारी व्यक्ति सरह आमन्त्रण गरेर प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको उनको भनाई थियो।

उनले लेखेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो।’ नेता रावलले प्रधानमन्त्री ओलीले देश, पार्टी र पदको मर्यादालाई कायम राख्न नसकेको दाबी गरे।

उनले भनेका छन्, ‘देश, पार्टी र पदको गरिमाको रक्षा होस्।’ प्रधानमन्त्री ओलीले यसअघि पनि कात्तिक ५ मा भारतीय गुप्तचर रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेका थिए। उक्त भेटलाई लिएर नेकपाभित्रै विवाद छ। गोयलले ओलीसँग भेटवार्ता गरेको दुई सातापछि भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र त्यसलगत्तै विदेश सचिव हर्षवर्धन शृंगला काठमाडौं आए।

चौथाइवाले भाजपाका प्रभावशाली नेताका साथै मोदीका विश्वासपात्र मानिन्छन्। सत्तारुढ नेकपा आन्तरिक विवादले फुटनजिक पुगेका बेला भारतीय सत्तारूढ दलका नेताको भेटघाटको शृंखलालाइ अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपाको संस्थापन पक्षले भने राजनीतिक तहमा सम्पर्क र संवाद बढेको रूपमा अर्थ्याएको छ।