काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। स्थायी समिति बैठकमा प्रचण्डले भने, ‘मैले राखेको प्रस्ताव सबैतिर पुगिसकेको छ, यसमाथि छलफल हुन्छ।’
उनले आफूले राखेको आरोप नभई प्रस्ताव भएको प्रस्ट्याएका छन्। तर आरोपको सिलसिला भने प्रधानमन्त्री ओलीले सुरुवात गरेको प्रचण्डको भनाई छ। उनले भने, ‘हामी दुवैको प्रस्ताव तपाईंहरूको हात-हातमा पुगेको छ, हेर्नुस् अनि आफै विश्लेषण गर्नु सक्नुहुनेछ।’ प्रधानमन्त्री ओलीको आरोपको जवाफ चाहिँ पत्रमार्फत दिएको उनले बताए।
प्रधानमन्त्री तथा अध्यक्ष ओली भने आइतबारको बैठकमा सहभागी भएनन्। प्रचण्डले भने, ‘आजको बैठकमा नआएर प्रधानमन्त्री ओलीले ठुलो भूल गर्नुभयो। पार्टीमा सबै समीक्षा हुनुपर्छ। आफू सहभागी सचिवालय बैठकको निर्णयअनुसार भएको पार्टी स्थायी समिति बैठकमा उहाँ नआउनु पार्टी नियमको उल्लंघन हो।’
प्रचण्डले आफू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणका लागि तयार रहेको पनि बताए। यसअघि १३ मंसिरमा बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै प्रचण्ड पनि तयार हुनुहुन्छ भनेर प्रश्न गरेका हुन्।
ओलीको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका हुन्। उनले पार्टी एकताको विकल्प नरहेको समेत बताएका छन्। उनले को प्रधानमन्त्री हुने र को अध्यक्ष हुने भन्ने कुरा प्रमुख नभएको भन्दै गणतन्त्र र पार्टी एकताको रक्षा प्रमुख विषय भएको उनले बताए।
अध्यक्ष प्रचण्डले पार्टी एकता र गणतन्त्रको रक्षाका लागि आफू तयार रहेको भन्दै अरू सबै त्यागका लागि तयार हुनुपर्ने बताए।



लोकपाटी न्यूज

