काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ। शनिवारको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको असहमतिबिच निर्धारित आइतबारको स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको थियो।
धुम्बाराहीमा जारी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्। सचिवालयका अन्य ८ जना नेताहरू भने स्थायी कमिटी बैठकमा सहभागी छन्। नेकपाका एक नेताका अनुसार कोरोना भाइरसको संक्रमणको डर रहेकोले प्रधानमन्त्री ओली बैठकमा नआएको हुन्। तर आफ्नो निवासमा भने ओली आफू निकट नेताहरूसँग छलफलमा रहेको बुझिएको छ।
उनी स्थायी कमिटी बैठकलाई लिएर बालुवाटारमा छलफलमा छन्। स्थायी कमिटी बैठक उनको असहमतिका बिच सुरु भएको थियो। ओलीले शनिवारको सचिवालय बैठकमा अहिले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन आवश्यक नभएको बताएका थिए। अहिलेको अवस्थामा पार्टी विवादको समाधान सचिवालयमा नै गर्नु पर्ने अडान सहित उनले केन्द्रीय कमिटीको बैठकको औचित्य नै नभएको बताएका थिए। उनी निकट नेताहरूले पनि पार्टी केन्द्रीय कमिटीका बैठकहरू बोलाउन नहुने पक्षमा थिए।
दुवै अध्यक्षको असहमितमा साझा प्रस्ताव तयार भएपछि मात्र बैठक बोलाउन उपयुक्त हुने ओली पक्षको जोड थियो। यदि पार्टीमा बहुमत, अल्पमतको आधारमा अगाडि बढ्ने अवस्था रहे बैठक बहिस्कार गर्ने चेतावनी पनि ओली पक्षधरको थियो। तर माहौल बदलिएपछि उनी निकट नेताहरूको पनि धारणा बदलिएको छ। राजनीतिक भविष्यलाई लिएर उनीहरूले ओलीमाथि नै प्रश्न उठाउने गरेका छन्। ओली पक्षधरले आजको बैठक बहिस्कार गर्न सक्ने आशंका धेरैमा थियो।
तर स्थायी समिति बैठकमा भने ओली बाहेक उनी निकट सबै नेता उपस्थित छन्। नेकपाका एक नेताका अनुसार ओली निकट सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बैठकमा उपस्थित छन्। बैठकलाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहेका छन्। शनिबारको सचिवालय बैठकले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय थियो।
सोही अनुसार प्रस्तावहरु स्थायी कमिटीमा पेस हुने र प्रस्तावमाथि छलफल प्रारम्भ गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बहुमत सदस्यहरूबाट व्यक्त रायका आधारमा उक्त प्रस्तावहरु छलफलका लागि स्थायी कमिटी बैठकमा पेस भएका हुन्। पार्टीमा उत्पन्न विवाद पार्टी केन्द्रीय बैठकबाट टुंग्याउनु पर्नेमा अध्यक्ष प्रचण्डसहित सचिवालय बहुमत सदस्यहरु एक ठाउँमा छन्।



लोकपाटी न्यूज

