तोकिएको समयमै बैठक बस्छः प्रवक्ता श्रेष्ठ

Narayankaji
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी सचिवालय बैठक पूर्वनिर्धारित समयमा सुरु हुने बताएका छन्। बुधवारको सचिवालय बैठक शनिवार १ बजे बैठक बोलाउने निर्णय गरेको थियो।।

उक्त बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्। ओलीको समेत उपस्थितिमा पार्टीमा उत्पन्न विवाद समाधानबारे छलफल गर्नु उचित हुने निष्कर्ष सहित शनिवार पुनः बैठक बस्ने निर्णय गरेको थियो।

सोही अनुसार सचिवालय बैठक तोकिएको समयमै सुरु हुने प्रवक्ता श्रेष्ठले बताए। उनले आजको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने जानकारी दिए। ‘आज बैठक बस्छ, प्रधानमन्त्री आउनुहुन्छ र छलफल हुन्छ, आउनु भएन भन्ने के हुन्छ भन्ने हाइपोथेटिकल कुरा नगरौं,’ उनले भने।

आजको बैठकमा दुवै अध्यक्षले पेस गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। मङ्सिर १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए। ओलीले पेस गरेको प्रतिवेदनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई लगाएको आरोपको खण्डन गरेका थिए।

ओलीअघि कात्तिक २८ गते प्रचण्डले १९ पृष्ठको प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए। उनले आफ्नो प्रतिवेदनमा ओलीमाथि विभिन्न आरोप लगाएका थिए। गत बुधवार बसेको सचिवालय बैठकमा पनि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची थियो। तर, बैठकमा अध्यक्ष ओली नआएपछि प्रतिवेदनमाथि छलफल नै हुन पाएन।

बुधवारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरेको थियो।