काठमाडौं । शिक्षा भनेको सबैले स्वीकार्ने र महत्त्व दिने विषय हो । निरपेक्ष रुपमा हेर्दा शिक्षाको इतिहास राम्रो छ । विभिन्न नीति नियमहरु बनेका छन् । विद्यालय बढेका छन् । विद्यार्थी बढेका छन् । छात्राहरु बढेका छन् । सान्र्दभिकताको दृष्टिले हेर्दा देशमा बेरोजगार बढेको कारण शिक्षा गुणस्तर नभएर हो भन्ने भनाइ सुन्नमा आइरहेको छ । गुणस्तर भन्ने कुरा समयसँग आबद्ध हुने कुरा हो । हिजोका दिनहरुमा थोरै पढेर र पढाएर हुने तर आज थोरै पढेर नहुने अवस्था छ ।
शिक्षामा बढ्दो दलीय हस्तक्षेपको कारण पनि शिक्षाको गुणस्तर खस्किएको भनाई शिक्षाविद्हरुको छ । नेपालमा शिक्षा प्रणालीको योजनाबद्ध विकासमा विभिन्न प्रयासहरु भएकै हुन् । विभिन्न प्रयास र अभ्यासका वाबजुत पनि शिक्षाको विकास जनअपेक्षाअनुसार अगाडि बढ्न नसकेको वास्तविकता पनि हामै्र अगाडि छ ।
प्रसिद्ध लेखक हर्वट स्पेन्सरले भनेका छन्, ‘मानिसलाई पूर्ण जीवन व्यतीत गर्नको लागि तयार पार्नु नै शिक्षाको कार्य हो ।’ तर, हाम्रो शिक्षा मानिसलाई पूर्ण जीवन व्यतीतको लागि तयार पार्नुभन्दा पनि निरन्तरता दिने तर नवीनता नदिने खालको छ । हाम्रो शिक्षकले किताब पढाउँछन्, तर व्यवहार र जीवन पढाउँदैनन् । शिक्षकले किताब र व्यवहारको कडीलाई समन्वय गर्ने ज्ञान नै सिकाउन सकेको छैन् । जनशक्ति पनि किताबी कुरामा मात्र सिमित रहे भन्ने आरोप लागिरहेको अवस्थामा जनशक्ति पनि म गरेर खान्छु नभनेर जागिर कहाँ पाइन्छ भनेर खोज्यो ।
‘एक वर्ष बाँच्नु छ भने धान रोप, दश वर्ष बाँच्नु छ भने फलफूलको बोट रोप र पूरा जीवन बाँच्नु छ भने शिक्षा रोप’ भन्ने प्रसिद्ध चिनियाँ भनाइबाट पनि बुझ्न सकिन्छ शिक्षा जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरा । तर, शिक्षामा हुने दलीयकरण, व्यापारीकरण, राजनीतिक हस्तक्षेपको कारण शिक्षा क्षेत्रमा विभिन्न समस्याहरु बढ्दै गइरहेका छन् ।
शिक्षाविद् विद्यानाथ कोइराला, त्रिभूवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी र शिक्षाशास्त्र केन्द्रीय विभागअन्तर्गत अङ्ग्रेजी शिक्षा विभागका प्रमुख प्रेम फ्याक लगायतले शिक्षकले पुस्तक मात्र पठाएको चर्चा गरेका छन् । रातोपाटीको स्टोरीबाट ।



लाेकपाटी न्यूज

