काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखलाई भेट्नु देशको मर्यादाविपरित भएको बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले रअ प्रमुखलाई राति निवासमा भेट्ने कुरा ठिक नभएको बताएका हुन्।
नेता रावलले भने, ‘भारतीय गुप्तचर प्रमुख नेपाल आए, यसबारेमा सरकारले कुनै पनि जानकारी गराएको थिएन तर, प्रधानमन्त्रीले राति निवासमा भेट्नु प्रधानमन्त्रीको मर्यादा र देशको मर्यादाविपरित हो। हाम्रो स्वतन्त्र परराष्ट्र नीति विरुद्ध हो।’ रअका प्रमुख सामन्तकुमार गोयल एक महिना पहिले नेपाल भ्रमणमा आएका थिए।
नेता रावलले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणलाई लिएर समेत प्रश्न उठाए। उनले रक्षामन्त्री फेङहेको नेपाल भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डल स्तरको वार्ता मन्त्रीस्तरमा हुनुपर्ने भन्दै उनले भने, ‘विमानस्थलमा लिन र छोड्न मन्त्री जाने, अनि प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो मैले बुझिनँ ।’



लोकपाटी न्यूज

