ओलीको प्रतिवेदनले समस्या समाधान गर्दैन : प्रभु साह

Prabhu Sah
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले थप जटिलता सृजना गर्ने बताएका छन्। साहले ओलीको प्रतिवेदन पार्टीमा देखिएको विवादलाई निकास दिने किसिमको नभएको टिप्पणी गरेका हुन्। प्रमुख नेतृत्व भएको नाताले नयाँ दिशाबोध सहित निकास दिने प्रतिवेदन आउने सर्वअपेक्षा विपरीत आरोप प्रत्यारोप जस्तो भएकोले अध्यक्ष ओलीको भूमिका सम्हाल्ने हुनुपर्नेमा झगडियाको जस्तो देखिएको साहको तर्क छ।

‘कमरेड केपी ओली पार्टीको मुख्य नेतृत्व हुनुहुन्छ। उहाँले पार्टीलाई निकास दिनुपर्ने हो, समग्र पार्टी पङ्क्तिलाई एउटा दिशा दिनुपर्ने हो। तर सचिवालय बैठकमा उहाँले जुन प्रस्ताव पेश गर्नुभयो त्यो वर्तमान पार्टीको असहज एवं संक्रमणकालीन अवस्थालाई ख्याल नै नगरी आएको जस्तो लाग्यो’ साहले भने, ‘अहिले द्वन्द हैन एकता चाहिएको छ, द्वन्द बढ़ाउने कुनै प्रस्ताव सही हुन सक्दैन। यी प्रतिवेदनलाई जस्ताको त्यस्तै अगाड़ी बढ़ाउनुको सट्टा दुईटै प्रतिवेदनको सकारात्मक पक्षलाई मिलाएर एउटा प्रतिवेदन बनाएर मात्र तल छलफलमा लानुपर्छ।’

नेता साहले अहिले नेतृत्व तहमा सहमति कायम गरी पार्टीलाई सहि दिशामा लैजानुको विकल्प नभएको बताए। यस अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफको रूपमा शनिवारको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन्।