प्रचण्डलाई ओलीको जवाफ : ‘बहुमतको खेल मान्दिनँ’

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल आफ्ना लागि मान्य नहुने बताएका छन्। शनिबार प्रचण्डको प्रतिवेदनको जवाफ दिँदै ओलीले बहुमतको खेल नमान्ने बताएका हुन्।

३८ पेज लामो प्रतिवेदनमा ओलीको अधिकांश समय प्रचण्डको आलोचनामा खर्चिएको छ। उनले प्रतिवेदनमा संक्रमणकालीन अवस्थामा बहुमतको खेल आफूले नमान्ने भन्दै सहमतिबाट मात्र अघि बढ्न सकिने उल्लेख गरेका छन्। यस्तो छ ओलीको प्रतिवेदनको निष्कर्षको एक अंश।

मेरो आग्रह छ, कुनै पनि महाधिवेशन/अधिवेशनहरुबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको सङ्क्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔँ। हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन्। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) का दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई महाधिवेशन÷अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ। तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ। विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ।