काठमाडौं, १३ मंसीर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
दिउँसो १ बजेबाट सुरु भएको बैठक अहिले पनि जारी छ। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गरिरहेका छन्। बैठकमा ओलीले प्रचण्डको प्रस्तावमाथि केन्द्रित रहेर आफ्नो जवाफ दिइरहेको स्रोतले बतायो।
यसअघि मंसीर ३ गते ओलीले प्रस्तावका लागि भन्दै १० दिनको समय मागेका थिए। पूर्वनिर्धारित समयअनुसार नै आजको बैठक बस्न लागेको हो। बैठक बस्नुअघि २ अध्यक्षबिच परामर्श हुने गरे पनि यसपटकको बैठकमा भने भिन्न दृश्य देखिएको छ। बैठकको कार्यसूचिबारेसमेत अनौपचारिक छलफल नगरी नेताहरु एकैपटक बैठकमा जुटेका छन्।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो लिखित प्रस्ताव पेश गरिरहेका छन्। प्रचण्डका अभियोगमाथि केन्द्रित रहेको भनिए पनि ओलीको प्रस्ताव अहिलेसम्म सार्वजनिक गरिएको छैन।



लोकपाटी न्यूज

