नेकपा फुट्ला कि जुट्ला, के भन्छन् राजनीतिक विश्लेषक ?

Communist Flag
लोकपाटी न्यूज

काठमाडौँ। आरोप–प्रत्यारोप हुँदै गुटगत गतिविधिलाई तीव्रता दिएका नेकपाका दुवै पक्षले एकअर्कामाथि पार्टी विभाजनको कोसिस गरेको आरोप लगाउँदै आएका छन्। तर, विभाजनकै तयारी गरेको आरोप लगाए पनि विगतमा जस्तो शीर्ष नेताहरु विवाद सुल्झाउन नियमित संवादमा छैनन्, बरु आ–आफ्नो समूहका गतिविधिमा व्यस्त छन्।

पार्टी एकतापछि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एवं वरिष्ठ नेता माधवकुमार नेपालबीच विगतमा पनि विवाद भएका थिए। तर, आरोप–प्रत्यारोप लिखित रुपमै पार्टीका नेता–कार्यकर्ताका हातहातमा पु¥याउने तर विवाद समाधानमा संवाद नगर्ने नेकपाका शीर्ष नेताहरुले यसपटक नयाँ अभ्यास गरेका छन्।

यो अभ्यास र गतिविधिमा नेकपाका शीर्ष नेताहरुको मनोविज्ञान पनि जोडिएको छ। यद्यपि यसबीचमा एकले अर्को समूहलाई तर्साउने र दबाबमा राख्ने कोसिस पनि भएका छन्। मंसिर ३ को सचिवालयपछि दुई अध्यक्षको भेटसमेत भएको छैन। त्यसैले नेकपाभित्रै र राजनीतिमा चासो राख्नेहरुबीच प्रश्न उठ्न थालेको छ – के नेकपाका शीर्ष नेता यसपटक पार्टी विभाजनसम्मको लागि मानसिक रुपमा तयारी अवस्थामा छन् ?

यो प्रश्नमा राजनीतिक विश्लेषक र नेकपाका नेताहरुको मिश्रित टिप्पणी छ। विश्लेषक हरि रोका दुवै समूहका पछिल्ला गतिविधिले पार्टी फुटका लागि नेताहरु मानसिक रुपमा तयार भएको बताउँछन्। विश्लेषक रोका पहिला–पहिला सामान्य विषयमा पनि छलफल बहस हुने गरेको र अहिले अविश्वासको खाडल ठूलो भएको तथा त्यसलाई पुर्न सकिने सम्भावना कम रहेको मान्छन्।

‘अहिले विवाद जुन ढाँचाबाट अगाडि बढेको छ, अब यो नमेटिने खालकोजस्तो भयो। अर्को अध्यक्षले मलाई भयकंर ठूलो आक्षेप लगाउनु भयो भनेर प्रधानमन्त्रीले भन्नुभयो। उहाँका मान्छेहरुले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्छ भनेका छन्। अर्कोतिरबाट पाँचजनाकै सहमतिमा प्रस्ताव ल्याइएको हो भनेका छन्। मतलब अब छलफल, सहमतिको कुरा बाँकी रहेन,’ रोकाले भने, ‘अल्पमत बहुमत गरेर छिनोफानो हुने भयो। त्यसलाई मान्ने–नमान्ने बेग्लै कुरा भए। मानेर जान्न भन्यो भने फुटाएर वा अलग भएर जानुपर्‍यो। त्यसो गर्दा बहुमतले अल्पमतलाई कारबाही गर्ने हुन्छ। यो हिसाबले पार्टी फुटका लागि नेताहरु मानसिक रुपमा तयार छन् भन्ने देखिन्छ।’

अर्का विश्लेषक श्याम श्रेष्ठ पनि नेकपामा दुवै समूहबाट भएका गतिविधिले पार्टी फुटकै तयारी अवस्थामा रहेको बुझिने बताउँछन्। ‘सचिवालयमा पाँच नेताको सहमतिमा प्रचण्डले पेस गरेको प्रस्तावमा अब सँगै जान सकिन्नँ भन्नेखालको भाषा छ। केपी ओलीले प्रचण्डलाई लेखेको पत्र र अब उनले ल्याउने प्रस्तावमा पनि जवाफ त्यहीअनुसार आउने देखिन्छ,’ श्रेष्ठले भने, ‘अब विगतमा जस्तो कुनै सहमति वा सम्झौताबाट टुंगिने ठाउँ देखिँदैन। किनकि आरोप लिखित रुपमै आएको छ। फिर्ता हुने सम्भावना देखिँदैन। यसले त दुवै पक्ष अब एक ठाउँ रहने सम्भावना कम देखिन्छ। यो कुरा नेताहरुले बुझेकै छन्।’