एजेन्सी । अमेरिकी नासाको यान अन्तरिक्षको अहिलेसम्मकै सबभन्दा टाढाको पिण्डसम्म पुगेको छ । ‘न्यू हराइजन’ नामक यान करिब साढे ६ अर्ब किलोमिटर टाढा पुगेको हो । यो नै अहिलेसम्म सौर्यमण्डलको सबैभन्दा टाढा पुगेको घटना हो ।
नासाको ‘न्यू हराइजन’ नामक अभियानले अल्टिमा टुले नामक बरफको पिण्ड नजिकैबाट गुज्रिएको पुष्टि गर्दै पृथ्वीमा सूचना समेत पठाएको छ । सो पिण्ड नजिकैबाट गुज्रँदा यसले ठूलो परिमाणमा फोटो खिच्नुका साथै अन्य अवलोकनसमेत गरेको छ ।
रेडियो सन्देश अल्टिमाबाट पृथ्वी आइपुग्न ६ घण्टा ८ मिनेट लागेको थियो । म्यारिल्याण्डस्थित जन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स लेबोरेटरीका नियन्त्रकहरूले सो रेडियो सिग्नल प्राप्त गरेका थिए । सो रेडियो सिग्नल प्राप्त भएपछि उनीहरुले खुशी मनाएका थिए ।
‘न्यू हराइजन’ अभियानकी सञ्चालन व्यवस्थापक एलिस बोम्यानले आफूहरुले सबैभन्दा टाढाको भ्रमण गरेको र अन्तरिक्ष यान स्वस्थ रहेको बताइन् । उक्त सन्देश न्यू हराइजनले पूर्वनिर्देशन अनुसार सफलतापूर्वक स्वचालित यात्रा र अवलोकन सम्पन्न भएको स्पष्ट पारेको छ ।
अल्टिमा के हो ?
अल्टिमा पिण्ड काइपर बेल्ट भनिने क्षेत्र हो । जहाँ जमेका पिण्डहरूले सूर्यलाई परिक्रमा गर्छन् । ती पिण्ड सबैभन्दा परको आठौँ ग्रह नेप्च्युनभन्दा पनि २ अर्ब किलोमिटर टाढा छन् । पहिलो ग्रह मानिने प्लूटो भन्दा पनि सो क्षेत्र डेढ अर्ब किलोमिटर टाढा छ ।
न्यू हराइजन यान सन् २०१५ मा प्लूटो नजिक पुगेको थियो । काइपर बेल्ट क्षेत्रमा अल्टिमा जस्ता लाखौँ पिण्डहरू रहेको अनुमान गरिएको छ । त्यस क्षेत्रमा साढे ४ अर्ब वर्ष पहिले अर्थात् सौर्यमण्डलको निर्माण ताकाका अवस्थाहरूबारे जानकारी मिल्ने सूचना हुनसक्ने आशंका गरिएको छ ।



लाेकपाटी न्यूज

