काठमाडौं । क्यान्सरलाई जटिल रोगको रुपमा लिइन्छ । तरपनि यसको रोकथाम भने हुन्छ । चिकित्सकका अनुसार करिब ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ भने बाँकी करिब २७ प्रतिशत बिरामीलाई उचित उपचारबाट आयु लम्याउन सकिन्छ । यसका लक्षण देखिए भने पनि आत्तिनु हुँदैन । तर, नियमित रुपमा जाँच र चिकित्सकको परामर्श लिइरहनुपर्छ ।
यो रोगको मूख्य कारक तत्वको खोजी गर्दा खानपान, बदलिँदो जीवनशैली र वातावरणीय प्रभाव नै हाे । संसारभरमा नै पाँच प्रमुख क्यान्सरका कारण हुने पुरुषहरुको मृत्यु मध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्ननलीको क्यान्सर रहेका छन् । यस्तै संसारभर क्यान्सरका कारण हुने महिला मृत्यु मध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर रहेका छन् ।
क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ । सूर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण नै क्यान्सर रोकथाम गर्ने ठूलो उपाय हो ।
त्यस्तै आज हामी तपाईलाई क्यान्सरका लक्षण र बच्ने उपायबारे जानकारी दिन गइरहेका छौं ।
क्यान्सरका लक्षणहरु :
१. लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।
२. खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।
३. लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।
४. महिलाहरुमा महिनावारी नभएको समयमा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।
५. स्तनमा गाँठा गुठीहरू देखिनु, मुन्टोबाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।
६. शरीरमा गिर्खा, गाँठा गुठीहरू देखिनु ।
७. कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।
८. छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु ।
९. नाक,मुख र दिसा बाट रगत आउनु ।
१०. धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु, आँखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।
क्यान्सरबाट बच्ने उपायहरू :
१. चुरोट, बिंडी, खैनी, सुर्ती, जाँड, रक्सीको सेवन नगर्ने ।
२. बासी, सडेगलेको र ढुसी परेको खानाहरू नखाने ।
३. पोलेर डढेको मासु र अन्य खानेकुराहरू नखाने ।
४. अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग गरिएका खानेकुराहरू नखाने ।
५. चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन नखाने ।
६. धुलो, धुवाँ तथा वातावरणीय प्रदुषणबाट जोगिने ।
७. महिलाहरूले नियमित रुपले गर्भासय स्राव परीक्षण गर्ने ।
८. स्तनमा गिर्खा,गाँठागुठीे छ/छैन प्रत्येक महिना राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीहरुसँग परामर्श लिने ।
९. दिनहुँ शारीरिक व्यायाम गर्ने, अनावश्यक मोटोपन घटाउने ।
१०. मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने ।



लाेकपाटी न्यूज

