नेकपा कर्णालीका प्रमुख सचेतक निलम्बित

लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशका नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ। संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका हुन्। उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ।

प्रमुख सचेतकको रूपमा रही सन्तोषजनक कामकारबाही नगरेकोले उनलाई हटाइएको शाहीले जानकारी गराएका छन्। ‘प्रदेश सभा दलको विधान ७ बमोजिम प्रदेश सभा प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले जिम्मेवारबाट मुक्त गरिएको छ,’ संसदीय दलका नेता शाहीले लेखेको पत्रमा भनिएको छ।

नवनियुक्त प्रमुख सचेतक नेपालीले नयाँ जिम्मेवारी आएसँगै सबै पक्षसँग छलफल गरी बैठक आह्वान गर्ने प्रतिक्रिया दिइन्। शाह यामलाल कँडेल (पूर्वएमाले) निकट र नेपाली मुख्यमन्त्री शाही (पूर्वमाओवादी) निकट हुन्।

नेकपाका बहुमत सांसदहरुले मुख्यमन्त्रीविरुद्ध आइतवार मात्र संसदीय दलका अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। आइतबार बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलको विधानअनुसार प्रमुख सचेतक शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका थिए। अब यो प्रकरणले उक्त बैठक अन्योलमा परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्