प्रलोभन दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर

लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बन्न पुगेको छ। प्रदेश राजधानी सुर्खेतमा आइतबार दिनभरजसो दुई समूह (मुख्यमन्त्री शाही र अविश्वासको प्रस्ताव ल्याउनेहरू)बिच छलफल चल्यो।

तर, दुवै समूह अडानमा टसमस भएनन्। यसबारे संसदमा रहेका वरिष्ठ नेताहरू र पार्टीसँग परामर्श तथा समन्वयको काम भइरहेको छ। प्रमुख सचेतक गुलावजंग शाहका अनुसार संसदीय दलको विधान बमोजिम १५ दिनभित्र बैठक आयोजना गरी प्रस्तावमाथि छलफल गर्ने तयारी छ। केन्द्रमा दुई अध्यक्ष र सचिवालयमा मन्त्रीमण्डल पुनर्गठन विषयमा छलफल चलिरहेको समयमा एकाएक मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि नेकपामा फेरि आशंका चुलिएको छ।

शाहीविरुद्धको असन्तुष्टि मुख्यमन्त्री निर्वाचित भएबाटै सुरु भएको थियो। एमाले पोलिट्ब्यूरो सदस्य रहेका यमलाल कँडेल मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभामा झरेका थिए। कँडेललाई अध्यक्ष ओलीले मुख्यमन्त्रीको आश्वासनसमेत दिएका थिए। तर, ६ प्रदेशको मुख्यमन्त्रीमा भागबण्डा गर्दा कर्णाली प्रदेश माओवादीको भागमा पर्‍यो र शाही मुख्यमन्त्री बने।

अहिले पनि अविश्वासको प्रस्ताव दर्ता हुनुको पछाडि सांसद कँडेलको मुख्यमन्त्री बन्ने महत्वाकांक्षालाई प्रमुख कारक रहेको नेकपा कर्णालीका नेताहरू बताउँछन्। मुख्यमन्त्री शाहीविरुद्ध यसअघि पनि अविश्वासको प्रस्ताव ल्याउने प्रयास भएको थियो। हस्ताक्षर गर्नेमध्येका अन्य केही सांसदले मन्त्रिपरिषद पुनर्गठन गर्न वा मन्त्रालय विभाजन गरेर मन्त्री बनाउन पार्टी र मुख्यमन्त्रीलाई दबाब दिँदै आएका थिए।

अहिले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका केही सांसद सुरुदेखि नै मन्त्री बन्न नपाउँदा असन्तुष्ट थिए। कँडेलको प्रमुख चाहना र महत्वाकांक्षामा आएको अविश्वासको प्रस्तावमा हस्ताक्षरको लागि प्रलोभन देखाइएको स्रोतको भनाई छ। मन्त्री देखि विभिन्न पदको प्रलोभनमा सांसदहरूलाई उक्त अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न लगाइएको स्रोतले बतायो।

लामो समयदेखिको कसरतपछि विभिन्न प्रलोभन दिएर सांसदहरूलाई कँडेल हस्ताक्षर गराउन सफल भएको बताइएको छ। उनले मुख्यमन्त्री शाहीलाई सधैँ असहयोग गर्ने गरेको मुख्यमन्त्री निकट एक सांसदको भनाई छ। उनका अनुसार आफ्नै पार्टीका नेताबाट सडकदेखि सदनसम्म प्रतिपक्षी दलका नेताको जस्तो व्यवहार खेप्नुपरेको शाहीले गुनासो गर्ने गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्