सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। सांसद यामलाल कँडेलको अगुवाइमा नेकपा संसदीय दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन्। सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए। हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन्।
अविश्वासपत्रमा शाहीले संसदीय दलको नेता निर्वाचित भएपछि प्रभावकारी काम गर्न नसकेको र प्रदेश सरकारको कामकारबाहीका कारण जनस्तरमा सरकार र पार्टीको उपस्थिति फितलो बन्न पुगेको उल्लेख गरिएको छ। सांसदहरूले दलका नेता शाहीप्रति आफूहरूको विश्वास नरहेको उल्लेख गर्दै यथाशीघ्र संसदीय दलको बैठक आयोजना गरी मार्गप्रशस्त गर्न माग गरेका छन्।
कर्णालीमा नेकपाको स्पष्ट बहुमत रहेको छ। कर्णालीमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्। कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन्।





लोकपाटी न्यूज

