बुटवल। प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो।
कुल ८७ सदस्य रहेको प्रदेशसभामा प्रस्तावको पक्षमा ६९ मत परेको छ। विपक्षमा १३ मत परेको छ भने जनमोर्चा मतदान प्रक्रियामा सहभागी भएन। मंगलबार प्रदेशसभा बैठकमा ८२ सांसदमात्र सहभागी थिए।
प्रदेश स्थायी राजधानी दाङ देउखुरी राख्ने प्रस्तावमा पक्षमा विपक्षी नेपाली कांग्रेसका ५ सांसदले पनि मत दिएका छन्। बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, शंकर गिरि, डिल्ली चौधरी, अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन्। कांग्रेसले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
यसअघि नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता गराएका थियो। संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो। प्रदेश सरकारले उक्त प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेपछि विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भएका थिए।



लोकपाटी न्यूज

